नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन भड्काएको भन्दै टीओबी (तिब्बतीयन ओरिजिनल ग्रुप) प्रति आक्रोश व्यक्त गरेका छन्।
मंगलबार जारी नेकपा (एमाले) को विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकमा दल नेता ओलीले तिब्बती शरणार्थीहरूप्रति आक्रोश व्यक्त गरेका हुन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ ग्रुपका युवाले ‘मलाई मेरो देश चाहिन्छ’ भनेर चिच्याएको भिडिओ भाइरल भएको थियो भने आन्दोलन भड्काउन सो समूह सक्रिय भएको आरोप छ।
बैठकलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार लाई ‘बाघको छालामा स्यालको रजाँइ’ को संज्ञा दिए।
‘यो सरकार बनायो कसले? जनताले बनाएको होइन। सरकार टेलिफोनबाट, डिस्कर्डबाट बनेको हो’ उनले भने, ‘सरकार राजनीतिबाट बन्छ। चुनावबाट बन्छ। त्यसैले यो असंवैधानिक छ।’
उनले राजनीति, सामाजिक, आर्थिक रुपले पछाडी धकेल्न खोजिएको बताए।
यस्तै, उनले अहिले भ्रष्टाचार बढेको दाबी पनि गरे।
‘देश दोबाटोमा छ। देशको स्वाधीनता,स्वतन्त्रता जोगाएर समृद्धिको यात्रामा अघि बढाउने कि वा नेपाललाई विनास र बर्बादीको बाटोमा लैजाने यो महत्त्वपूर्ण प्रश्न हो’ उनले भने, ‘देशमा भ्रष्टाचार अहिले बढेको छ। देश लोकतान्त्रिक प्रणालीमा अघि बढेको थियो। अहिले गलत तरिकाले नेपो बेबी भनेर बच्चा बच्चीमा त्रास फैलाइयो।’
उनले भदौ २३ र २४ को घटना बालबालिका विरोधी अपराध भएको बताए। उनीहरूलाई मानसिक दबाब दिइएको बताए।
‘बाबुआमाले भ्रष्टाचार गरेका रहेछन् भने पनि बालबालिकाको के दोष?’ उनले भने।
अध्यक्ष ओलीले आफूलाई भदौ २३÷२४ गतेको घटना जिम्मा लिनुपर्छ भन्नेहरू पार्टी विरोधी र नेतृत्व विरोधी भएको बताए।
Shares

प्रतिक्रिया