राजनीति


लिङ्देनले धवललाई भने: कमल थापा, केशरबहादुर, दुर्गा प्रसाईंलाई बाँधेर ल्याएर मिल्ने हो र?

लिङ्देनले धवललाई भने: कमल थापा, केशरबहादुर, दुर्गा प्रसाईंलाई बाँधेर ल्याएर मिल्ने हो र?

नेपालखबर
मंसिर १, २०८२ सोमबार १९:५५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल समसेर राणा एउटै मञ्चमा नदेखिएको धेरै भइसकेको छ। त्यसो त, धवल समसेरले यही कात्तिक १८ गते काठमाडौंमा आफू निकट केन्द्रीय सदस्यहरूको छुट्टै बैठक आयोजनासमेत गरेका थिए। अध्यक्ष लिङ्देनले एक्लै पार्टी चलाएको उनको आरोप रहँदै आएको छ। 

 समानान्तर गतिविधि संचालन गरेका महामन्त्री  धवलप्रति अध्यक्ष लिङ्देन पनि उदार छैनन्। उनले सार्वजनिक मञ्चबाटै महाधिवेशन कुर्न र सक्ने भए अध्यक्षबाट हटाउन चुनौती दिँदै आइरहेका छन्।

एउटै पार्टीको महत्वपूर्ण दुई पदमा रहेका यी नेताहरू सोमबार पोखरा नगर अधिवेशनको उद्घाटनको क्रममा एउटै मञ्चमा देखिए। देखिनु के थियो ? कार्यकर्ता अगाडि एउटाले अर्कालाई खुइल्याउने गरी मन्तव्य दिए।

 सुरुमा बोल्ने पालो रहेका धवल समेसेरले पार्टी नेतृत्वको असक्षमताको कारण पार्टी कमजोर बनेको र आउँदो  चुनावमा एक सिट पनि नआउने जिकिर गरेका थिए। राजतन्त्र र हिन्दु राज्यका निम्ति दुर्गा प्रसाईंदेखि केशरबहादुरलाई  पनि सँगै लिएर अगाडि बढ्नुपर्ने पनि उनले तर्क गरेका थिए। 

धवलको भनाइप्रति मञ्चमा पुगेका अध्यक्ष लिङ्देन सुरुदेखि नै आक्रामक सुनिए। उनले आफूले पार्टी संचालनको क्रममा कुनै कमजोरी नगरेको बताउँदै चित्त नबुझे महाधिवेशनमार्फत् आफूलाई हटाउन महामन्त्रीलाई चुनौती दिए। 

‘सबै कुरा पार्टी कमिटीमा बसेर छलफल गर्नुपर्छ। पार्टी अध्यक्षले ल्याएको प्रस्ताव कि त मान्नुपर्‍यो कि मत विभाजन हुन्छ। साह्रै चित्त बुझेको छैन भने महाधिवेशन आउँदैछ। आफूले केही काम नगर्ने अनि साथी हरूलाई सुनाएर पार्टी बर्बाद छ, नेता नेता लडाइँ छ भन्ने,’राणाप्रति लक्षित गर्दै लिङ्देनले भने,‘ आफू केही काम नगर्ने अनि सवै बिग्रियो भन्ने। नेता-नेता लडाइँ छ भन्ने। कमल थापा पनि मिलाएन, केशरबहादुर पनि मिलाएन,दुर्गा प्रसाईं पनि मिलाएन, बाँधेर ल्याएर मिल्ने कुरा हो ? उनीहरू मिल्दैनन् भनेर राप्रपा नचल्ने हो त, तपाईंले संगठन नगर्ने हो त ? चुनाव नलड्ने हो त ? हिजो हामी चुनावमा जाँदा उनीहरू सँगै थिए र ? हामीले फराकिलो मन राख्नुपर्छ। सवैसँग कुरा पनि भइरहेको छ।’ 

उनले राजावादी भनेर चिनिएका केही समूहबीच मिल्नै नसक्ने विषय भएको पनि जिकिर गरे।  ‘कतिपय कुराहरू छन्। जुन चरित्र र व्यवहारले नै नमिल्ने खालको कुरा छ। मिल्नै चाहँदैन,’उनले भने।  आफ्नो पार्टीभित्रकै साथी तलमाथि गर्छ भने गाली गर्नुहोस् न। मलाई पनि गाली गर्नुहोस् न। पार्टीको पदमा बस्ने भोट अर्को पार्टीलाई हाल्ने, भरसक कागज नै लुकाउने अनि कसरी हुन्छ ?’ उनले अहिलेकै अवस्थामा चुनाव हुँदा सही उम्मेदवार उठाउने रकार्यकर्ताले मिहिने गर्ने हो  भने राप्रपा नै  पहिलो पार्टी हुने जिकिर पनि गरे। ‘राप्रपाले कसरी जित्छ हैन, राप्रपा नेपालको पहिलो पार्टी बन्छ,’ उनले भने।

लिङ्देनले आगामी २१ फागुनको प्रतिनिधि सभा सदस्य चुनावअघि राजावादी, राष्ट्रवादी शक्ति र अन्य दलहरू मिलाएर सर्वपक्षीय सहमति गर्नुपर्नेमा जोड दिए। उनले राजतन्त्र अहिलेको प्रमुख आवश्यकता रहेको दाबी पनि गरे। उनले भने, ‘हामीले ल्याउने राजतन्त्र राप्रपाकोमात्र होइन, सम्पूर्ण देशको हितका लागि हो। समयअनुसार हिँड्न सक्नुपर्छ।’ 

उनले अहिलेको संविधान फेल भइसकेको पनि दाबी गरे। कुनै न कुनै रुपमा देशमा मियो चाहिन्छ भन्ने कुरा जेनजी आन्दोलनको क्रममा देखिएको उनको तर्क थियो। सिंहदरबार जलिरहँदा एक किमी नजिकसम्म पनि दकमल जान नसक्नुले हामीले कस्तो व्यवस्था ( गणतन्त्र) ल्याएका रैछौं भन्ने प्रस्ट देखिएको तर्क पनि गरे। 

महामन्त्री राणाले जेनजी आन्दोलनको ४ दिनअघि पार्टीको लमजुङको कार्यक्रममा अब संघ र प्रदेश सरकारमा बसेकाहरू सरकार छोडेर आन्दोलन जानुपर्ने बताएको र आफ्नो कुरा सत्य सावित भएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad