राजनीति


सभामुखलाई कांग्रेसको जवाफ: संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन

सभामुखलाई कांग्रेसको जवाफ: संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन

नेपालखबर
मंसिर १, २०८२ सोमबार १८:२१, काठमाडौँ

नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर अदालत नजाने स्पष्ट पारेको छ। कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले सभामुख घिमिरेलाई 
कांग्रेसको प्राथमिकतामा चुनाव रहेको बताएका हुन्। 
 
सभामुखले आइतबार कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकसँग संयुक्त छलफल गरेका थिए। भेटमा कांग्रेसका तर्फबाट घिमिरेले आफूहरू प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अदालत नजाने जानकारी गराएका हुन्।

घिमिरेकै अगुवाइमा विघटित प्रतिनिधि सभाका कांग्रेसका केही सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरे पनि सभापति शेरबहादुर देउवा पक्षकै कतिपय सांसदले हस्ताक्षर गरेनन् भने महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले हस्ताक्षर अभियानप्रति असहमति नै राखेका थिए।
 
छलफलमा एमालेका बर्तौलाले भने कांग्रेस र एमालेले निर्णय गर्ने हो भने प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै अदालत जान सकिने बताएका थिए। यसअघि सभामुख घिमिरे आफैँ प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा अदालत जाने तयारी गरे पनि पछि हटेका थिए। 

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर भदौ २७ गते सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। सोही दिन प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गते चुनाव घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्। अहिले दल दर्ताको काम धमाधम भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad