बागमती


चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १३:४५, काठमाडौँ

चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ।

रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरू डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी सुरु गरिएको छ। अस्पतालमा हालसम्म १४ वटा रोबोटिक सर्जरी गरिएको अस्पतालले जनाएको छ।

रोबोटिक तथा युरो सर्जन डा. गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुन्छ। रोबोटले नै सबै शल्यक्रिया गर्ने नभई सर्जनले योजना बनाएर रोबोटको सहायता लिएर शल्यक्रिया गरिने बताउँदै उनले भने, ‘रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो।’

चिकित्सकले प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरूका माध्यमबाट शल्यक्रिया गरिन्छ। परम्परागत प्रविधिको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रुपमा संवेदनशील र जटिल उपचार गर्न सकिने डा. गुरुङको भनाइ छ।

न्यूनतम पीडा, कम रक्तश्राव, छोटो अस्पताल बसाइँ र छिटो निको हुने भएकाले यस प्रविधि विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा बढी प्रयोग भएको डा. गुरुङले जानकारी दिए। रोबोटिक सर्जरीमा उपकरण अत्यन्त संवेदनशील र सूक्ष्म हुने जनाउँदै उनले भने, ‘यी उपकरणले मानव हातले गर्न नसक्ने अत्यधिक सुक्ष्म शल्यक्रिया गर्न सक्छन्।” 

यसले गर्दा शल्यक्रियाको क्रममा शरीरको अन्य भागमा न्यूनतम क्षति पुग्छ र शल्यक्रियाको परिणाम अत्यन्तै विश्वासिलो तथा सुरक्षित हुन्छ। सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, रक्तश्राव कम हुने, कम पीडा र छिटो निको हुने भएकाले पनि धेरै बिरामीको चाहना यही प्रविधि हुने उनको भनाइ छ। अन्य प्रविधिबाट असम्भव हुने शल्यक्रिया पनि यस प्रविधिबाट गर्न सकिने डा. गुरुङको भनाइ छ।
 
रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिने बताउँदै यही कारणले गर्दा शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने उनले जानकारी दिए। ‘रोबोटिक शल्यक्रियामा एकदमै अत्याधुनिक कम्प्युटर प्रणाली भएका कारण गतिविधि एकदम छरितो हुन्छन्, त्यसैले गर्दा ठूलो ठूलो शल्यक्रियामा धेरै फाइदा हुन्छ,’ उनले भने।

रोबोटिक शल्यक्रिया गर्दा शुल्क केही महँगो पर्ने भए पनि अस्पताल बसाइ कम, समयको बचत, घाउ निको हुने दर उच्च र अन्य धेरै कारणले गर्दा समग्रमा बिरामीलाई फाइदा नै हुने डा. गुरुङको भनाइ छ। 

मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले सीएमसीमा भित्रिएको रोबोट माइक्रोपोर्ट कम्पनीले बनाएको ‘टुमाइ’ नामक रोबोटिक प्रणाली भएको बताए। यो प्रवित्रि ३२ करोड लागतमा भित्र्याइएको हो। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad