पूर्व मन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन्।
अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको भुसालको भनाइ छ। सरकारले प्रतिनिधि सभा सदस्यका लागि आगामी फागुन २१ गते निर्वाचन तोकेको छ।
सरकारको तयारी, राजनीतिक वातावरणको हिसावले निर्वाचन सार्नुपर्ने र नहुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ। ‘चुनावका लागि ओलीजी मात्रै वाधक हो। अरु कुनै कुराले चुनाव रोकिँदैन। अहिले देखिएको ओलीजी मात्रै हो,’ भुसालले भने, ‘मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनु बाहेक अर्को कुनै विकल्प हुँदैन।’
सबै मिलेर ओलीलाई चुनावमा ल्याउनुपर्ने उनको भनाइ थियो। ‘भवितव्य तात्कालीक प्राविधिक कारणले सर्यो भने त्यो अर्को कुरा हो। नत्र भने सरकारको तयारीको हिसावले भन्नुहुन्छ, अरु राजनीतिक वातवरणको हिसावले भन्नुहुन्छ भने चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिन,’ भुसालले थपे, ‘ओलीजीले अहिले जुन ट्याउट्याउ गर्नुभएको छ। उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनुहुन्न। उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरूले लतार्नेछन्।’
जेनजी आन्दोलनबाट तत्कालीन सरकार र संसद् विघटन भएसँगै सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। अन्तरिम सरकारले फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको राजनीतिक दलहरूले बताउँदै आएका छन्।
एमालेले संसद् पुनःस्थापनको माग गरेको छ। एमालेको सिको गर्दै नेपाली कांग्रेसमा पनि संसद् पुनःस्थापनाको माग उठ्न थालेको छ। अन्य राजनीतिक दल भने निर्वाचनमा जाने मनस्थितिमा देखिन्छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता भुसालले आफूहरू नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित निर्वाचनमा जाने बताए। ‘हामीसँग अलरेडी पार्टी छँदै छ। आउने चुनावमा हामीले राम्ररी एजेन्डासहित फेस गर्छौं। हामीले चुनावमा भाग लिने कुरामा हामी प्रष्ट छौं,’ भुसालले भने, ‘हामी विप्लवजीहरूसहित चुनावमा जान्छौं।’
Shares

प्रतिक्रिया