कुलमान घिसिङले गठन गरेको पार्टीमा जान हस्ताक्षर गरिसकेका सुदन गुरूङ नेतृत्वको ‘द काउन्सिल अफ जेनजी’ का ६ प्रदेश संयोजक अन्तिम समयमा आएर रोकिएका छन्।
मङ्गलबार उज्यालो नेपाल पार्टीका विवरण निर्वाचन आयोगमा बुझाइएको छ। सो दल पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा छ। जसमा चुनावको मुखमा कुलमान पनि सामेल हुनेछन्।
दलको नाम, चुनाव चिन्ह र दलको संयोजक, कुनै पनि कुराले जेनजी नझल्काउने भएकोले आफूहरू कुलमानको दलमा सामेल नभएको ‘द काउन्सिल अफ जेनजी’का कोसी प्रदेश प्रदेश संयोजक उपार्जुन चाम्लिङ बताउँछन्।
‘यदि यी तीन कुरा जेनजीको सिफारिसमा हुन्थे भने सबैलाई समेट्न सकिन्थ्यो होला,’ चाम्लिङले नेपालखबरसँग भने।
चाम्लिङबाहेकका ६ प्रदेश संयोजकले अघिल्लो दिन सो पार्टीमा सहभागी हुने बताएका थिए।
चाम्लिङले सोमबार नै केही कुराहरू स्पष्ट नभएको भन्दै यस अघि नै बनिसकेको दलमा आबद्ध हुन नैतिक हिसाबले नमिल्ने बताएका थिए। उज्यालो नेपाल पार्टी दर्ताका लागि साउन २७ गते नै निर्वाचन आयोगमा निवेदन परेको थियो, जुन जेनजी आन्दोलनभन्दा अगाडिकै कुरा हो। त्यही पार्टीलाई अहिले कुलमान समूहले पुनर्गठन गरी नयाँ नेतृत्वसहितको टिम आयोगमा अध्यावधिक गरेको हो।
‘अन्तिम अवस्थासम्म पनि सुदन गुरुङ र कुलमान घिसिङबीच पार्टी नाम र नेतृत्वको विषयमा लामो छलफल भएको थियो,’ चाम्लिङले भने, ‘नाम पनि उहाँकै तर्फबाट, मुख्य व्यक्ति पनि उहाँकै, अब त्यो पार्टीमा जेनजीलाई प्रतिनिधित्व गर्ने खालको कुनै लक्षण नभएपछि हामी पछाडि हट्न बाध्य भयौँ।’
‘अरु जेनजीहरू पनि समेटिएनन्। अहिले पनि सबै जेनजीहरू सडकमै भएकाले बरु सबै जेनजीलाई समेटेर दल दर्ता गर्ने प्रक्रियामा लाग्यो भने ठिक हुन्छ भन्ने निचोडमा हामी पुग्यौँ,’ चाम्लिङले भने।
सुदन गुरूङ नेतृत्वको ‘द काउन्सिल अफ जेनजी’ का गण्डकी प्रदेश संयोगक प्रदीप पाण्डेले सात संयोजक जता गए पनि सँगै जाने बताए।
‘हामी कुलमान घिसिङलाई नै नेतृत्व मानेर अगाडि बढ्न खोजिरहेका थियौँ,’ गण्डकी प्रदेशका प्रदेश संयोजक पाण्डेले भने, ‘सोही अनुसार हस्ताक्षर समेत गरेका थियौँ। तर केही विषय हामीलाई चित्त बुझेन र हामी गएनौँ। हामी सातै जना एकै ठाउँमा हुने भन्ने थियो। पछि उपार्जुनसँगै हामी साथीहरू पनि उज्यालो नेपाल पार्टीमा नजाने भन्ने कुरा भयो। हामी दलमा जाँदा एउटै शक्ति भएर जान्छौँ।’
दलको नामलगायतमा असहमति जनाउँदै सुमना श्रेष्ठ र हामी नेपालका संयोजक सुदन गुरुङ पनि सो दलमा सहभागी भएका छैनन्।
उज्यालो नेपालले जेनजीको पार्टी भन्ने सन्देश नदिने चाम्लिङको भनाइ छ।
‘तत्कालको लागि छुट्टाछुट्टै दल दर्ता गर्ने, बरु पछि मिल्यो भने चुनावमा सहकार्य गर्छौँ,’ उनले थपे।
‘द काउन्सिल अफ जेनजी’ का प्रदेश संयोजकहरूले हालसम्मका प्रत्येक निर्णयहरू सामूहिक रुपमा मिलेर नै गरेको हुनाले केही जेनजी एउटा दलमा र केही अर्कोमा हुँदा जनतामा पनि राम्रो सन्देश नजाने हुनाले सबैजना उज्यालो नेपालमा नजाने निर्णय गरेको चाम्लिङको भनाइ छ।
उज्यालो नेपालबाट फिर्ता हुने कुरामा सुदन गुरुङ पनि सहमत रहेको चाम्लिङले दाबी गरे। उनका अनुसार गुरूङले पनि दलको नेतृत्वमा होस् वा नाममा होस् जेनजीको अस्तित्व झल्कनु पर्ने बताएका थिए।
आफूहरूले कुलमानसँगै मिलेर जानकै लागि सोमबार हस्ताक्षर गरे पनि कुलमान, बालेन, सुमना, सुदन सबै एकसाथ हुने स्थिति नबनेपछि परिस्थिति फेरिएको उनीहरूको भनाइ छ।
उज्यालो नेपाललाई जेनजीको पार्टी भन्न नमिल्ने चाम्लिङको भनाइ छ।
काउन्सिलमा बागमती प्रदेशको संयोजकमा अफसाना बानु, मधेसका शिव यादव, गण्डकीका प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमका खेमराज साउद र कर्णालीका प्रकाश खड्का छन्।
Shares

प्रतिक्रिया