स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन कटिबद्ध रहेको बताएकी छन्।
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
मन्त्री गौतमले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै त्यसलाई समयमा सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागि पर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरिन्।
नेपाल सरकार शान्ति सुरक्षाको प्रबन्ध गरेर निर्वाचन समयमा होस् भन्नेमा कटिबद्ध रहेको मन्त्री गौतमको भनाइ थियो। उनले निर्वाचन समयमा नै सम्पन्न हुन्छ भनेर आम मतादातालाई आश्वस्त पार्ने काममा केन्द्रित हुन पनि सबै पक्षलाई अनुरोध गरिन्।
यस्तो छ उनको भनाइ
हामी जेनजी आन्दोलनको क्रममा अब देशमा आमुल परिवर्तन ल्याउनुपर्छ। र, हाम्रो सुशासन र भ्रष्टाचार विरुद्धको एउटा म्यान्डेट लिएर आएको हो। तर हाम्रो मुख्य म्यान्डेट चाहीँ निर्वाचन गर्ने हो। फागुन २१ गते हामीले निर्वाचन गर्नुपर्छ। त्यसका लागि हामीले देशमा सकारात्मक वातावरण बनाउनु पर्छ। नेपाल सरकार शान्ति सुरक्षाको प्रवन्ध गरेर निर्वाचन समयमा होस भन्नेमा कटिवद्ध छ। यहाँ हुनु भएका मन्त्रीज्युहरु र उहाँहरुको दलमार्फत सबै सकारात्मक क्रियाकलापहरुद्धारा जनतालाई आश्वास्त पार्ने काम गरौ । र हामी सबै जना निर्वाचनको तयारी जुटौ भन्ने विशेष म्यासेज म यहाँ राख्न चाहन्छु।
म स्थानीय सरकारका प्रतिनिधिहरुलाई पनि भन्न चाहन्छु–नेपाल सरकारले संविधानप्रदत्त जुन निःशुल्क स्वास्थ्यको अधिकार छ। त्यो कानून बमोजिम पाउनेमा आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर नेपाल सरकार इमप्लिमेन्ट गरेको छ। त्यो सबैले निःशुल्क पाउनुपर्छ। प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालको तहसम्म त्यो निःशुल्क छ। त्यो बिमाभित्र पनि पर्दैन। त्यो हामीले प्रष्ट बुझौँ। र यो काम हाम्रो स्थानीय सरकारको जिम्मेवारी हो। कुनै पनि विरामीले औषधि पाएन भनेर भन्नुपर्दैन। किनभने अहिले म मन्त्रालयमा आउँदा पनि मैले सुनिराखेको छु सिटामल पाईन, ९८ वटा निःशुल्क औषधि पाइएन। स्वास्थ्य चौकीमा त दुई वटा पनि छैन भन्ने आईराखेको छ। स्थानीय सरकारले यो सबै उपलब्ध गराउनु पर्दछ।
Shares

प्रतिक्रिया