नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेको छ। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले कानुनी प्रक्रियाका लागि हस्ताक्षर संकलन गरिएको नेपालखबरलाई जानकारी दिए।
'कानुनी कामकारबाहीका लागि विघटित प्रतिनिधि सभाका हाम्रा सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका छौँ। कानुनी कामकारबाहीका लागि हस्ताक्षर गरिएको हो,' उनले नेपालखबरसँग भने।
संकलित हस्ताक्षर पार्टी केन्द्रीय समितिमा बुझाउने उनको भनाइ छ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष यसअघि नै निकालिसकेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो। उनले सोही दिन प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेकी थिइन्।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ। अहिले दल दर्ताको काम निर्वाचन आयोगले गरिरहेको छ।
विघटनअघि प्रतिनिधि सभामा सबैभन्दा धेरै सांसद भएको कांग्रेसका ८८ जना सांसद थिए। त्यस्तै नेकपा एमालेले भने प्रतिनिधि सभा पुन:स्थापनालाई मुख्य एजेन्डा बनाउँदै यसअघि नै विघटित संसद्का सदस्यहरूको हस्ताक्षर गरिसकेको छ।
Shares

प्रतिक्रिया