जेनजी आन्दोलनका क्रममा प्रहरीको पेस्तोल लुटेको आरोपमा मनमैजुबाट थप एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरका इन्द्रबहादुर राई रहेका छन्।
राईको साथबाट प्रहरीले जेनजी आन्दोलनमा लुटिएको एक थान पेस्तोल र त्यसको ७ राउण्ड गोली बरामद गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
राईविरुद्ध आगजनी, लुटपाट तथा प्रहरी कुटपिटमा संलग्न रहेको आरोप छ। भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जको भवनमा आगजनी गरेको आरोप पनि छ।
३६ वर्षका इन्द्रबहादुरले आन्दोलनका दिन लगाएको कपडा र जुत्ता समेत बरामद गरेको एसपी भट्टराईले बताए। उनीविरुद्ध यसअघि महाराजगञ्ज वृत्तबाट ज्यान सम्बन्धि कसुरमा मुद्दा चलेको अभिलेखमा देखिएको छ।
यस्तै शुक्रबार पनि प्रहरीले दुई थान पेस्तोलसहित अरु दुई जनालाई पक्राउ गरेको थियो। काठमाडौँ महानगरपालिका-१२ टेकु ह्युमतका १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही ब्राउनसुगर ९ सय २० मिलिग्रामसहित पक्राउ परेका थिए।
अमरको घर पछाडि लुकाएको एकथान पेस्तोल र गोली २ राउण्ड तथा सुजनको घरमा लुकाइ राखेको एउटा पेस्तोल र ४ राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ।
जेनजी आन्दोलनमा लुटिएका हतियार खोजतलासलाई प्रहरीले तीब्र बनाएको छ। सरकारले चुनाव घोषणा गरिसकेको अवस्थामा भागेका थुनुवा, कैदीबन्दी र लुटिएका हतियार बरामदलाई प्रहरीले प्राथमिकता दिएर काम गरिरहेको छ।
Shares

प्रतिक्रिया