नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठनको माग बढेपछि आगामी वर्ष गर्ने तय भएको महाधिवेशनलाई एक वर्ष अगाडि सारिएको बताएका छन्।
शुक्रबार काठमाडौँमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा ओलीले पार्टीभित्र पुनर्गठनको मागलाई सम्मान गर्दै महाधिवेशन अघि सारेको बताए। उनका अनुसार, अनुशासनहीन गतिविधि र अनावश्यक विवादले पार्टीको एकतालाई कमजोर बनाउन खोजेकाले यस्तो कदम आवश्यक भएको हो।
‘पार्टीमा पुनर्गठन चाहियो भनेर केही साथीहरूले धेरै कराए, अनुशासनहीन ढंगले उपद्रव मचाए,’ ओलीले भने, ‘त्यसैले मैले एक वर्षपछि गर्ने महाधिवेशनलाई एक वर्ष अघि सारेको हुँ।’
‘काम नगर्नेहरु गए हुन्छ, काम गर्ने बसे हुन्छ। को काम गरेको छ, छैन, कार्यकर्ताले देखेको छ। को लड्या छ छैन, को काम गरेको छ की छैन, कार्यकर्ताले देखेको छ। कार्यकर्ताले फैसला गर्दछ,’ उनले थपे।
ओलीले पार्टीका भित्रका असन्तुष्ट नेताहरूलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गएर ‘र्याईंर्याईं’ गर्न छाड्न आग्रह गरे। उनले भने, ‘यो र्याईंर्याईं मिडियामा गएर क्याईंक्याईं गरेको छ। उता युट्युबमा गयो त्यस्तै छ। टेलिभिजनमा गयो र्याईंर्याईं गरेको छ। एउटा पत्रिका भनेको छ, र्याईंर्याईं गरेको छ। यो र्याईंर्याईं यो साँझतिर झ्याउँकिरीले झ्याउँझ्याउँ गर्छ त्यो भन्दा बढ्ता गरेर। यति बेला संसद् पुनर्स्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने केपी ओली राजीनामा दे, राजीनामा दे। यो आज मात्रै भनेको हो र?’
Shares

प्रतिक्रिया