कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मुलुकमा अझै निर्वाचनको वातावरण नबनेको बताएका छन्।
शुक्रबार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको सनाखतका लागि पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेसम्म पनि चुनावको उपयुक्त वातावरण तयार नभएको टिप्पणी गरे
‘निर्वाचन विद्रोहकै निरन्तरता हो,’ विप्लवले भने, ‘हामी संसदीय व्यवस्थालाई पूर्णरूपमा स्वीकार गरेर होइन, क्रान्ति र संघर्षकै नयाँ मोर्चाका रूपमा जनताको पक्षमा प्रयोग गर्न लागेका हौं।’
उनका अनुसार नेकपाले जनताको सल्लाह र सुझावका आधारमा चुनावमा भाग लिने निर्णय गरेको हो। विप्लवले पार्टी नयाँ ढंगले गठन भएको बताउँदै भने, ‘हाम्रो उद्देश्य जनताको सेवा र देशको हितमा संघर्ष जारी राख्नु हो। जनताले साथ दिए यो देशका युवालाई स्वाभिमानी नेपाली बनाउने हाम्रो संकल्प छ।’
उनले मुलुकमा कम्युनिष्ट एकताको बहस जारी रहेको उल्लेख गर्दै नयाँ कम्युनिस्ट केन्द्र निर्माण, समाजवादी केन्द्र स्थापनाको पहल र देशलाई अस्थिर राजनीतिक अवस्थाबाट निकास दिलाउने अभियानमा नेकपा लागिपरेको बताए।
विप्लवले घनश्याम भुसाल र जनार्दन शर्मासँग नयाँ कम्युनिस्ट केन्द्र निर्माण तथा राष्ट्रिय संकट समाधानका विषयमा छलफल भएको जानकारी पनि दिए।
Shares

प्रतिक्रिया