नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टीभित्र बहुसंख्यकले आत्मसमर्पण गरे पनि आफ्नो समूह अझै सशक्त रूपमा बाँकी रहेको बताएका छन्।
बुधबार पत्रकार सम्मेलनमा बोल्दै भूसालले भने, ‘केन्द्रीय समितिको बहुसंख्यक संख्या गएर आत्मसमर्पण गरे पनि एउटा टिम बाँकी छ। पदाधिकारी कम होलान्, तर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा अझै साथीहरू छन्। जिल्लास्तरमा त हामी बहुमतमा नै छौँ।’
उनले पार्टी एकता समाजवादीको बहुमत पक्ष गए पनि बाँकी समूहले आफ्नो हैसियतमा नेकपा (एकीकृत समाजवादी) कै रूपमा क्रियाशील रहने बताए। 
‘यो एकता समाजवादीको बहुमत एकतामा गए पनि अरु साथीहरू आआफ्नै ठाउँमा रहनुहोला,’ भूसालले भने, ‘त्यही हैसियतमा रहनु होला। आफ्नै ठाउँमा नेकपा एकीकृत समाजवादीकै रुपमा रहेर क्रियाशील रहनुहोला।’
भूसालले आगामी मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै भने, ‘त्यो भेलामा हामी गम्भीर छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने निर्णय गर्नेछौँ।’
उनले एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका दलको एकतालाई त्रुटिपूर्ण रहेको समेत बताए। ‘जसरी माधव नेपालहरू एकतामा जानु भएको छ, त्यो एकता त्रुटिपूर्ण छ,’ भूसालले भने, ‘समस्या मान्छे कम हुनु होइन, दृष्टिकोणको स्पष्टता नहुनु हो।’
Shares

प्रतिक्रिया