माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका नौ पार्टी/समूहका बीच एकता भई निर्माण हुन लागेको नयाँ कम्युनिस्ट पार्टीका पदाधिकारीहरूको उमेर हद र कार्यकाल तोकिने भएको छ।
यसैगरी, नेतृत्व विकास र नेतृत्व हस्तान्तरणको वैज्ञानिक विधि समेत तय गर्नुका साथै पार्टीको तलदेखि माथिसम्मका सम्पूर्ण कमिटीमा ‘जेन–जी’ पुस्ताका नवयुवा र युवा पुस्ताको २० प्रतिशत प्रतिनिधित्वसमेत सुनिश्चित गराइने योजना बनाइएको छ।
यो नयाँ पार्टीले तयार पारेको घोषणापत्रमा पार्टीका पदाधिकारीहरूको उमेर र कार्यकाल तोकिने कुरा प्रस्तावित घोषणापत्रको ‘हाम्रो सैद्धान्तिक आधार र दृष्टिकोण’ खण्डमा समावेश गरिएका छन्।
प्रस्तावित घोषणापत्रका अनुसार, पार्टीभित्र नेतृत्व विकास र हस्तान्तरणका विधिहरू समेत तय गरिनेछन्।
संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रियता’ अंगालिए पनि पार्टीमा ‘आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन’ रहने र पार्टी कमिटीहरू समावेशी हुने उल्लेख गरिएको छ।
पार्टी कमिटीहरूलाई समावेशी बनाउन हरेक कमिटीमा पैँतीस प्रतिशत महिला, बीस प्रतिशत जेनजी नवयुवा र युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम रहने उल्लेख छ।
मुख्य राजनीतिक लक्ष्य ‘वैज्ञानिक समाजवाद’ निर्धारण गरेको यो पार्टीले वित्तीय तथा दलाल पुँजीवाद वर्ग र आम नेपाली जनताबीचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको ‘प्रधान अन्तरविरोध’ मानेको छ।
यो प्रधान अन्तरविरोध समाधान गर्न समाजवादी क्रान्ति अपरिहार्य रहेको ठहर गरेको छ। नेपाली क्रान्ति समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको ठहर गर्दै उसले आफ्नो लक्ष्य ‘वैज्ञानिक समाजवाद’ निर्धारण गरेको हो।
‘हामी नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छौँ,’ नेपालखबरलाई प्राप्त प्रस्तावित घोषणापत्रको मसौदामा भनिएको छ, ‘त्यो समाजवाद लोकतान्त्रिक मूल्य मान्यता सहितको हुने, त्यसको बाटो मूलत: समाजवादी हुनेछ।’
घोषणापत्रमा ‘नेपाली विशेषतासहितको समाजवाद’ का चार नीति पनि उल्लेख गरिएका छन्।
त्यसमध्ये ‘राज्य व्यवस्था’ सम्बन्धी नीति अन्तर्गत जनअपेक्षा अनुरूप काम नगर्ने जनप्रतिनिधिहरूलाई प्रत्याह्वान गर्ने व्यवस्था छ । ‘अर्थव्यवस्था’ सम्बन्धी नीति अन्तर्गत ‘देशको सम्पूर्ण श्रम–सक्षम जनशक्तिलाई योग्यता अनुसारको काम र काम अनुसारको दाम उपलब्ध गराउने गरी आर्थिकक्षेत्रको द्रुतदर विकास गरिने’ उल्लेख गरिएको छ।
यसैगरी ‘सामाजिक–सांस्कृतिक व्यवस्था’ सम्बन्धी नीति पनि पार्टीले तय गरेको छ।
चौथो नम्बरमा राखिएको ‘राष्ट्रिय हित र परराष्ट्र नीति’ अन्तर्गत ‘अहिले पनि नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता दबाबमुक्त नरहेको’ उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय हित र मुलुकको समृद्धिका लागि पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र, असंलग्न, सन्तुलित परराष्ट्रनीति अवलम्बन गरिने, विभिन्न राष्ट्रका जनताको न्याय समानता र समृद्धिको पक्षमा उभिने बताइएको छ।
पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद तय गरेको यो दलले पार्टी घोषणापत्रमार्फत् विभिन्न २३ वटा प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरेको छ।
ती प्रतिबद्धताहरूमा ‘नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, संघीयताको सबलीकरण तथा स्थानीय तह र प्रतिनिधिको संख्या घटाउने लगायत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रहने’, र ‘उच्चस्तरीय अधिकार सम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने’ उल्लेख छ।
यसैगरी ‘जेनजी पुस्ताको मुद्दा र आकांक्षा सम्बोधन गर्न प्रतिबद्ध रहने’, ‘विगतका कामको समग्र समीक्षा गरेर भएका कमी–कमजोरीहरू सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रूपान्तरण गर्दै अघि बढ्न तत्पर रहने’, ‘पार्टीका सबै नेता तथा कार्यकर्ता उत्पादन र श्रम कार्यमा संलग्न रहने’ लगायत छन्।
‘हुन त, यो घोषणापत्रको प्रारम्भिक मसौदा हो, यसलाई अन्तिम रूप दिनेगरी सातवटै पार्टी सम्मिलित कार्यदलले काम गरिरहेको छ,’ घोषणाको पूर्वसन्ध्यामा सो दलका एक नेताले भने, ‘घोषणापत्रमा निकै न्यून मात्रामा हेरफेर होला। तर, घोषणापत्रको मोटामोटी खाका यही नै हो।’
यस्तो छ प्रारम्भिक मसौदा:




Shares

प्रतिक्रिया