राजनीति


कतार पुगेर राष्ट्रपतिले भनेः फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि

कतार पुगेर राष्ट्रपतिले भनेः फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार २१:२५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गरेका छन्।

उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताए। यहाँस्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुनेक्रममा नेपाली समुदायलाई सम्वोधन गर्दै उनले यस्तो बताएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए। 

उनले युवा पुस्ताले भ्रष्टाचारको अन्त्य , सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु नपर्ने अवस्थाका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएर संविधान र प्रणाली जोगाउन सकिएको पनि बताए।

उनले संसारका अन्य देशमा युवा पुस्तको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गरे।

कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरेका पनि पोखरेलले जानकारी दिए। 

कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार नै यहाँ आइपुगेका राष्ट्रपति पौडेल र प्रथम  महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्च पदस्थ कर्मचारी, गैह्र आवासीय नेपाली संघका प्रतिनिधिले स्वागत गरेका थिए। 

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आएका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेललले नेपालीहरूको श्रम गन्तव्यका रूपमा रहेको कतारस्थित दूतीवासको  नेपाली श्रमिकहरूको दुख,सुख एवं समस्या बुझेर काम गर्नुपर्ने गहन दायित्व रहेको उल्लेख गर्दे यो अभिभारा पुरा गर्न र भरपर्दो सेवा दिन दूतावासका कर्मचारीहरूलाई आग्रह गरे।

राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको कतारस्थित दूतावासले नेपाल र कतारबीचको सम्बन्धलाई अध सुमधुर बनाउन भूमिका खेल्नुपर्ने पनि बताएका थिए। सो अवसरमा राजदूत रमेशचन्द्र पौडेलले  कतारमा रहेका नेपाली श्रमिकहरूका बारेमा जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको  दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, उनले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन्।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ। 

संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ। राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ। कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनेछन्।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad