राजनीति


घ्याङलेख गाउँपालिकाका अध्यक्ष भोलनले फिर्ता गरे सरकारी सवारी

घ्याङलेख गाउँपालिकाका अध्यक्ष भोलनले फिर्ता गरे सरकारी सवारी

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १५:४५, हेटौँडा

सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले गाउँपालिकाले उपलब्ध गराउँदै आएको सरकारी सवारी साधन फिर्ता गरेका छन्। उनले जनताको करको पैसा बचत गर्न भन्दै पालिकाले उपलब्ध गराएको सरकारी सवारी साधन फिर्ता गरेका हुन्।

उनले खर्च कटौती र मितव्ययी शासनको सन्देश दिन यस्तो निर्णय लिएको बताए। अध्यक्ष भोलनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम अर्याललाई पत्रसहित बा २ झ ३६८० नम्बरको सवारी साधन बुझाएका हुन्।

भोलनले स्थानीय सरकारमा प्रशासनिक खर्च बढ्दै गएको र जनस्तरमा असन्तुष्टि तीव्र बनेको कारण सवारी साधन फिर्ता गर्ने निर्णयमा पुगेको बताए। 

‘अहिले जनप्रतिनिधिप्रति जनतामा वितृष्णा बढ्दै गएको छ,' उनले भने, ‘जनताको करको पैसाले गाडी चढेको भन्ने छ। म जनताको विश्वास फर्काउन चाहन्छु, त्यसैले मसँग रहेको सरकारी गाडी फिर्ता गर्ने निर्णयमा पुगेको हुँ। यो सवारीलाई अब म बिरामी बोक्ने प्रायोजनमा प्रयोग गर्नेछु।’ 

अध्यक्ष भोलनले उक्त सवारी साधन अब पालिकाका गर्भवती र बिरामीहरूलाई बोक्न प्रयोग गर्न निर्देशन दिएका छन्। खर्च घटाउने र स्थानीय सरकारलाई मितव्ययी बनाउने उद्देश्यले यस्तो कदम उठाएको उनको भनाइ छ।

गाउँपालिकाका उपाध्यक्ष शंखरमान भोलनले चढ्दै आएको सवारीमा गत भदौ २४ गते भएको जेन–जी प्रर्दशनको क्रममा आगजनी भएपछि आफूलाई पनि गाडी चढ्न मन नलागेको बताउँदै उनले थपे, ‘हामी जनप्रतिनिधि भनेको जनसेवामा लागेका मानिस हौँ। उपाध्यक्ष ज्यु गाडी नभएर हिँडिरहनु भएको अवस्थामा मैले पनि गाडी फिर्ता गरिदिएँ। अब म चढ्ने गाडीमा पालिकाभित्र रहनुभएका बिरामी र गर्भवतीलाई निःशुल्क अस्पतालसम्म पुर्‍याउने काममा प्रयोग हुनेछ।’

गाउँपालिकाले विकास निर्माणका लागि पर्याप्त स्रोत जुटाउन कठिनाइ भैरहेको बेला सुविधा लिनु जनप्रतिनिधिको नैतिक जिम्मेवारीसँग मेल नखाने उनी बताउँछन्। जनताको काममा हिँड्नु परेको बेला मोटरसाइकलमा लिफ्ट मागेर वा हिँडेरै भए पनि सेवामा लाग्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad