राजनीति


एमालेले मंसिर ६ गते काठमाडौँमा जनसभा गर्ने

एमालेले मंसिर ६ गते काठमाडौँमा जनसभा गर्ने

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १९:१८, काठमाडौँ

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अब काठमाडौंमा हुने भएको छ। 

शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुस्थित सचिवालय बैठकले महाधिवेशनको स्थल पोखराबाट काठमाडौंमा सार्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुने भएको छ। महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट प्रतिनिधि चयन गरिनेछ। प्रतिनिधि चयन आगामी मंसिर १३ गते देशभर एकसाथ हुने योजना तय गरिएको छ। प्रतिनिधिहरूको विवरण मंसिर १५ गतेसम्म केन्द्रिय कार्यालयमा पठाउनुपर्नेछ।

प्रतिनिधि चयनमा प्रत्येक निर्वाचन क्षेत्रलाई आधार मानेर प्रक्रिया अघि बढाइनेछ। प्रत्येक निर्वाचन क्षेत्रमा १ हजार २०० पार्टी सदस्यको अनुपातमा दुई खुला, एक महिला र एक ४० वर्ष मुनिका युवा गरी कम्तिमा चार प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ। साथै, अतिरिक्त सदस्य संख्या अनुसार थप प्रतिनिधि र महिला प्रतिनिधि सुनिश्चित गरिनेछ। दलित सदस्यका लागि छुट्टै निर्वाचन इकाई बनाइनेछ। ट्रेड युनियन, जनसंगठन, विभाग, प्रदेश कमिटी र प्रवास संगठनबाट पनि निश्चित प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

पार्टीले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि जनपरिचालन योजना पनि अघि सारेको छ। देशभर ६ हजार ७ सय ४३ वडामा कार्तिक २२ गते जनभेला, कार्तिक २५ गते पालिकास्तरमा प्रदर्शन, कार्तिक २९ गते जिल्ला स्तरमा र काठमाडौंमा मंसिर ६ गते ठूलो जनसभा आयोजना गर्ने निर्णय भएको छ।

महाधिवेशनमा प्रस्तुत विधानका सुझावलाई परिमार्जन गरी कार्तिक २० गतेसम्म अन्तिम रुप दिने निर्णय पनि भएको ज्ञवालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad