राजनीति


कांग्रेस पदाधिकारी बैठकअघि विशालनगरमा शेखर काेइरालाको छुट्टै छलफल

कांग्रेस पदाधिकारी बैठकअघि विशालनगरमा शेखर काेइरालाको छुट्टै छलफल

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार ११:१६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पदाधिकारी बैठक बस्नुअघि आज बिहान आफूनिकट पदाधिकारीहरूसँग छुट्टै छलफल गरेका छन्। 

कोइरालाले विशालनगरस्थितआफ्नो सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका हुन्। 

‘उहाँले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गर्नु भएको हो’, बैठकमा सहभागी कांग्रेसका एक पदाधिकारीले नेपालखबरसँग भने। 

आजै कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। 

यसअघि बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का कार्यतालिका पेस गर्ने विषयमा तयार नभएपछि थापाले बैठक नै बहिष्कार गरेका थिए। 

‘अहिले बिहानको बैठकमा पनि सहमति नभए थापाले आज पनि बैठक बहिष्कार गर्ने वा बैठकमा उपस्थित भएर सभापतिसँग समय लिएर आफ्नो भनाइ राख्ने क्रममा नै तालिका सुनाएर निस्किने भन्ने तयारी छ’, ती नेताले नेपालखबरसँग भने। 

महामन्त्री थापाले मंसिरमा कांग्रेसको विशेष महाधिवेशन गर्ने प्रस्ताव तयार पारेका छन्।

विशेष महाधिवेशन माग गर्दै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते पार्टीको केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दिएका छन् भने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनअघि नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा जोड दिइरहेका छन्। 

कांग्रेसमा महामन्त्रीले ल्याएको एजेन्डा सभापतिले समर्थन जनाएपछि मात्रै पेस गर्ने चलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad