राजनीति


‘तत्कालै’मा उपार्जुन चाम्लिङ : चुनाव जित्ने विश्वास नभएकाले एमाले संसद् पुनर्स्थापना भन्दैछ (भिडिओ)

‘संसद् पुनर्स्थापनाको माग जेनजी विद्रोहको अपमान हो’

आयुषा ढकाल
पुस १३ , काठमाडौँ

जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सोही अनुसार कार्यतालिका सार्वजनिक पनि गरिसकेको छ। 

अधिकांश दलहरूले चुनावका लागि तयार रहेको बताइरहेका छन्। तर, नेतृत्व परिवर्तनको आन्तरिक खिचोलामा अल्झेका दलहरू चुनावी तयारीमा लागेका देखिँदैनन्।

नेकपा एमालेले त अझ संसद् पुनर्स्थापनाको मुद्दा बोकेर हिँडेको छ। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा डाकेको त्रिपक्षीय बैठकमा पनि एमालेले यही कुरा उठाएको थियो। 

तर, जेनजी प्रतिनिधि उपार्जुन चाम्लिङ राई संसद् पुनर्स्थापनाको माग जेनजी विद्रोहको अपमान भएको बताउँछन्।

‘नेकपा एमाले संसद् पुनर्स्थापनाको लाइनमा देखिएको छ। तर, यो यस्ता बहानाबाजी गर्ने समय होइन, संसद् पुनर्स्थापना गर्ने कुरा विद्रोहलाई अपमान गर्ने कुरा हो,’ राई भन्छन्, ‘आउने चुनावमा जनताले नेकपा एमालेलाई पत्याउँछन् भन्ने विश्वासै छैन। त्यसैले उनीहरूको उद्देश्य नै चुनावलाई टार्नु हो।’

भदौ २३ र २४ को आन्दोलन फागुन २१ मा चुनाव भएपछि मात्र पूर्ण हुने उनको भनाइ छ। बालुवाटारको बैठकमा सहभागी राईका अनुसार केहीले संविधानलाई नै अप्ठेरोमा पार्ने मुद्दा उठाएका थिए। राप्रपाले राजासहितको नयाँ समझदारीको कुरा गरेको थियो भने जेनजीका मिराज ढुंगानाले संघीयता खारेजीको कुरा उठाएका थिए। 

‘तर, संविधान भन्दा बाहिर जाने अवस्था हाल छैन,’ राई भन्छन्, ‘लाखौँ आदिवासी, जनजाति, दलित, मुस्लिम, मधेसीहरूको त्यागतपस्या र बलिदानीको जगमा बनेको संघीय संरचना दुईचार जनालाई मन परेन भन्दैमा हट्ने कुरा होइन।’

मिराजका बारेमा उनले थपे, ‘चिप भरेर राखेको चाइनिज डलले जति भरेको हुन्छ, त्यति मात्र बोल्छ, लेखेर ल्याएको कुरा मात्र उहाँले भन्नु हुन्छ। त्यो उहाँले लेखेकै हैन। उहाँ त इनोसेन्ट हुनुहुन्छ भन्ने लाग्छ।’ 

यी मुद्दाहरू जेनजीको नभएको पनि उनले स्पष्ट पारे।

भने, ‘जेनजी सडकमा जाँदै गर्दा जे मुद्दा लिएर गएको थियो, ती मुद्दा पूरा गर्न संविधान बाधक छैन। हामी सडकमा जाँदा जुन मुद्दा लिएर गएका थियौँ, अहिले पनि तिनै मुद्दा वरिपरि रहेका मात्रै आधिकारिक जेनजी हुन्।’

संविधान संशोधन भयो भने ७६ जना सहिदहरूमाथि अपमान हुने पनि उनले बताए।

उनले थप के-के बताए त? हेर्नुहोस् उपार्जुन चाम्लिङसँगको नेपालखबर तत्कालै :

कात्तिक १४, २०८२ शुक्रबार १८:३१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad