नवगठित जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले सांसद अपहरणमा संलग्नहरुमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिने तयारी भइरहेको बताएका छन्।
तत्कालीन समाजवादी पार्टीका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई सत्तारुढ दल नेकपाका सांसदहरु महेस बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरीप्रमुख सर्वेन्द्र खनालले घरबाटै अपहरण गरी काठमाडौँ ल्याएएको भन्दै उनीहरुविरुद्ध उजुरीको तयारी भइरहेको भण्डारीले बताए।
नेता भण्डारीका अनुसार उजुरीबारे अहिले पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ। पार्टीका तर्फबाट भन्दा पनि अपहरणमा परेका सांसदकै तर्फबाट उजुरीको तयारी भइरहेको बताइएको छ।
सांसद यादवका तर्फबाटा अहिले केहीबेरमै केही वकिलले महानगरीय प्रहरी परिसरमा उजुरी दिने तयारी भएको उनले जानकारी दिए। मुद्दा दर्ताअघि वकिलसँग सांसद यादव र पार्टीका शीर्ष नेताहरुले छलफल गरेका थिए।
‘वकिलहरुसँग पार्टीका शीर्ष नेताहरुले छलफल गरेपछि अहिले उजुरी दिनेबारे तयारी भइरहेको छ’, नेता भण्डारीले नेपालखबरसँग भने।
नेकपाका संसद र पूर्व प्रहरी प्रमुखले गत बुधबार सांसद यादवलाई महोत्तरीबाट काठमाडौँ ल्याएका थिए। समाजवादी पार्टीले उनको अपहरण भएको बताउँदै आएको थियो।

प्रतिक्रिया