राजनीति


प्रधानमन्त्रीको सचिवालयले भन्यो: बालेनले गृहमन्त्री हटाउन दबाब दिइरहेको हल्ला अफवाह

प्रधानमन्त्रीको सचिवालयले भन्यो: बालेनले गृहमन्त्री हटाउन दबाब दिइरहेको हल्ला अफवाह

फाइल तस्बिर प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र मेयर बालेन


नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १०:१८, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दबाब दिइरहेको भन्ने हल्लाको खण्डन गरेको छ।

कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने कुरा विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएकाले यो कुरा अफवाह भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरूप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ। कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो’, प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन। जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ। यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।’

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका बेला सामाजिक सञ्जालबाट निर्देशन दिइरहेका बालेनलाई जेनजी प्रतिनिधिले राष्ट्रपतिसँग वार्ताका क्रममा प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर यसलाई अस्वीकार गर्दै उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका थिए। त्यसयता वर्तमान मन्त्रिमण्डल गठनमा बालेनको हात रहेको अनुमान भइरहेको छ। 

तर गृहमन्त्री अर्यालले जेनजीको मागअनुसार आन्दोलन दबाउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहममन्त्री रमेश लेखकलगायतविरुद्ध ‘एक्सन’ लिन नसकेको भन्दै बालेन असन्तुष्ट रहेको र उनलाई पदबाट हटाउन प्रधानमन्त्री कार्कीलाई दबाब दिइरहेको हल्ला भइरहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad