प्रधानमन्त्री शुसीला कार्कीले बोलाएको बैठकमा नेकपा (एमाले) बाहेक सबै राजनीतिक दलले चुनावको विकल्प नहरेको बताएका छन्।
बुधबार साँझ बैठकबाट बाहिरिँदै गर्दा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले नेकपा (एमाले) बाहेक सबै दल चुनावमै केन्द्रित भएको जानकारी दिए।
उनका अनुसार एमाले भने संसद पुनर्स्थापनाको अडानमा छ।
‘अबको लक्ष्य भनेको चुनाव नै हो। चुनावमा जाने अनि अग्रगामी (संविधान) संशोधन गर्ने भन्ने भयो’ ज्वालाले भने, ‘एमालेको चाहिँ डिफरेन्ट, पुनर्स्थपना।’
जसले दुई दुई पटक संसद विघटन गर्यो उसैले पुनर्स्थापना भन्नु नसुहाउने तर्क आफूले बैठकमा राखेको ज्वालाले नेपालखबरलाई बताए।
‘पुनर्स्थापनाको ढोल बजाएर हुँदैन। पुरानो भइसक्यो, त्यसमा नजाउँ’ उनले भने, ‘जसले दुई दुई पटक संसद विघटन गर् यो उसैले पुनर्स्थापना भन्नु सुहाउने कुरा होइन।’
उनले जेनजीका प्रतिनिधि समेत चुनावको विकल्प नरहेको निष्कर्षमा पुगेको जानकारी दिए।
जेनजी प्रतिनिधिहरू पनि संविधान र व्यवस्थाप्रति एकमत देखिएको उनको भनाई थियो।
Shares

प्रतिक्रिया