राजनीति


प्रधानमन्त्रीलाई भनें- पार्टी कमिटीलाई बाइपास गरेर समस्या समाधान हुँदैन: वामदेव

प्रधानमन्त्रीलाई भनें- पार्टी कमिटीलाई बाइपास गरेर समस्या समाधान हुँदैन: वामदेव

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ६:२३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा छलफल भएको बताएका छन्।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उपाध्यक्ष गौतमले शनिबार प्रधानमन्त्री र आफूबीच भएको कुनाकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको भन्दै आफूहरुबीच त्यस्तो कुनै चर्काचर्की नभएको प्रस्ट पारेका हुन्।

शनिबारको भेटवार्तामा गौतमले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर बालकोट गएर बस्न चेतावनी दिएको लगायतका समाचार प्रकाशित भएपछि उपाध्यक्ष गौतमले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेका हुन्।

‘हिजो (१३ गते) प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ’, उपाध्यक्ष गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो।’

उपाध्यक्ष गौतमले अध्यादेश खारेज गरिएपछि पनि पार्टीभित्र अनेकौँ समस्या रहेको र ती समस्याको हल पार्टीभित्रै छलफल गरेर गर्नुपर्ने आफूले प्रधानमन्त्रीलाई सुझाब दिएको बताएका छन्। उनमले आफूले समस्या समधानका लागि सचिवालय, स्थायी समिति र आवश्यक परे केन्द्रीय समितिको बैठक बोलाउन र सबैको सुझाबलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्याको समधान गर्न सुझाब दिएको बताएका छन्।

‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन्। यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ’, उपाध्यक्ष गौतमले भनेका छन्, ‘तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस्। सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाब दिएको हुँ।’

उनले प्रधानमन्त्रीले आफ्नो सल्लाह धैर्यतापूर्वक  सुनेको र थोरै बोलेको बताउँदै यसबारे अनावश्यक भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्। 

‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ। भएको यत्ति हो। सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु’, गौतमले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .