राजनीति


जेनजी आन्दोलनमा क्षतिग्रस्त ३ पार्टीका कार्यालय कसरी पुनः सञ्चालनमा आए?

जेनजी आन्दोलनमा क्षतिग्रस्त ३ पार्टीका कार्यालय कसरी पुनः सञ्चालनमा आए?

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १३:३७, काठमाडौँ

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको निशानामा परेपछि आगजनी र तोडफोडका कारण भवनदेखि लिएर अभिलेख र उपकरणसम्म नष्ट भएका थिए। अहिले ती क्षतिग्रस्त कार्यालयहरूमा दलहरूले स्वयंको पहलमा पुनर्निर्माण र मर्मतकार्य सुरु गरेका छन्। 

आन्दोलनका क्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो। पार्टीका अभिलेख र डिजिटल उपकरणहरू नष्ट वा लुटिएका थिए भने धेरै भवनहरू जिर्ण बनेका थिए। अहिले दलहरूले सफा–सफाइ, भवन मर्मत, सुरक्षा मूल्यांकन र प्रशासनिक पुनर्संरचनाका काम अघि बढाएका छन्।

एमालेः अस्थायी टेन्टबाट कार्यालय सञ्चालन

नेकपा (एमाले) का केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी कार्यालयमा भएका सबै कागजात र भौतिक सामग्री आगलागीबाट पूर्णरूपमा नष्ट भएका छन्। करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए।

डा.अधिकारीका अनुसार पार्टीले हाल अस्थायी रूपमा टेन्ट हालेर नियमित काम सञ्चालन गरिरहेको छ। क्षतिग्रस्त भवनको इन्जिनियरिङ परीक्षण सम्पन्न भइसकेको र ६ वटा कोठा पूर्णरूपमा ड्यामेज भएकाले एक महिनाभित्र पुनर्निर्माण सक्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए।

उनले भने, ‘इन्जिनियरहरूबाट भवन परीक्षण गरिसकेपछि हामीले ६ वटा कोठा ड्यामेज भएको पत्ता लगायौं। विशेष प्रविधिबाट त्यसको पुनर्निर्माण कार्य सुरु भइसकेको छ।’

पार्टीले महाधिवेशन नजिकिएकाले दातृ सदस्यहरूको सहयोगमा अस्थायी व्यवस्थाबाट बैठक र काम सञ्चालन गरिरहेको छ।

माओवादी केन्द्रः ५ करोडको क्षति, रेट्रोफिट डिजाईनमार्फत पुनर्निर्माण

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय मुख्यसचिव गणेशमान पुनका अनुसार पार्टी कार्यालयमा आगजनी र तोडफोडबाट करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। हाल कार्यालयमा झ्याल–ढोका मर्मत, रङरोगन, र रिसेप्सन हल निर्माण कार्य जारी छ।

उनले भने, ‘जहाँ जहाँ जलेको छ, त्यहाँ नयाँ निर्माण भइरहेको छ। यही भवनभित्रैबाट हामी पदाधिकारी र स्थायी समिति बैठक सञ्चालन गर्दैछौं’

उनका अनुसार क्षतिग्रस्त भवनलाई रेट्रोफिट डिजाईनमार्फत पुनर्निर्माण गर्ने काम इन्जिनियर टोलिले गरिरहेको छ। विशेषगरी तल्लो तला, आवास क्षेत्र, ग्राउन्ड फ्लोर र पहिलो तला सबैभन्दा बढी क्षति भएको छ।

एकीकृत समाजवादीः सबै सामान लुटपाट, दाताबाट सहयोग संकलन सुरु

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार पार्टी कार्यालयमा रहेका सबै सामान लुटिएका छन्। दुई कोठामा आगजनी र तोडफोड हुँदा कम्प्युटर, कुर्सी, पंखादेखि आवश्यक कागजातसम्म जलेर नष्ट भएका छन्।

प्रारम्भिक मूल्याकंन अनुसार करिब १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। हाल पार्टीले दातृ सहयोग र चन्दा संकलनमार्फत कार्यालय पुनःव्यवस्थापनको तयारी गरिरहेको छ।

भट्टराईले भने, ‘हामी अहिले पुराना सामान जोडजाड गरेर कार्यालय चलाइरहेका छौं। मर्मत सुरु भएको छैन। अघिल्लो राजावादी आन्दोलनमा पनि २४ लाख क्षति भएको थियो, अहिले त्यो भन्दा धेरै क्षति भएको छ।’

उनका अनुसार कार्यालय भाडाको भवनमा भएकाले मर्मत खर्च पनि पार्टीकै जिम्मामा परेको छ।

पुनर्निर्माणमा सरकारी सहयोगको अभाव

राजनीतिक दलहरूले क्षतिग्रस्त भवनहरूको मर्मत र सञ्चालन आफैंको स्रोत, सहयोगी तथा दाताको सहयोगमा गरिरहेका छन्। दलहरूले सरकारसँग क्षति विवरण अनुसार सहयोग मागेपनि हालसम्म कुनै सहयोग प्राप्त नभएको बताएका छन्।

दलहरूका अनुसार हालको प्राथमिकता भवन पुनर्निर्माण, डिजिटल डेटा पुनर्संरचना, प्रशासनिक व्यवस्थापन र संगठन सञ्चालनलाई स्थायी बनाउनेतर्फ केन्द्रित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad