राजनीति


छठ पर्वका दुई दिन राष्ट्रिय विदा दिन सरकारलाई केशव झाको आग्रह

छठ पर्वका दुई दिन राष्ट्रिय विदा दिन सरकारलाई केशव झाको आग्रह

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १९:८, काठमाडौँ

राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले सरकारलाई पर्वका मुख्य दुई दिन-सन्ध्या अर्घ्य र बिहानको अर्घ्य- राष्ट्रिय विदाको रूपमा मान्यता दिन आग्रह गरेका छन्।

छठ पर्वका अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत झाले भनेका छन्, ‘छठ केवल धार्मिक अनुष्ठान होइन, यो प्रकृति, संस्कृति र मानवजीवनबीचको गहिरो संवाद हो। जल, सूर्य, मातृत्व र श्रमप्रतिको सम्मान हो।’

उनका अनुसार छठ पर्वले हजारौं वर्षदेखि मधेशको सभ्यता र संस्कृतिमा निहित जीवनदर्शन बोकेको छ। उनले भनेका छन्, ‘चार दिनसम्म चल्ने यो पर्वमा नदी र सूर्यको आराधना केवल धार्मिक विधि होइन, यो प्रकृतिप्रति हाम्रो आभार र सहअस्तित्वको उद्घोष हो। बिहान उदाउँदो सूर्य र साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा हामी परिवारको मात्र होइन, समाज र प्रकृतिको सन्तुलनका लागि पनि प्रार्थना गर्छौं।’

झाले राज्यप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘दुःखको कुरा छठ पर्वका लागि राज्यले आजसम्म केवल एक दिन मात्र राष्ट्रिय विदा दिएको छ। त्यो पनि मधेस आन्दोलनपछिको दबाबका कारण प्राप्त अधिकार हो, आत्मस्वीकृत सम्मान होइन।’

उनले यसलाई सांस्कृतिक विभेदको उदाहरणका रूपमा व्याख्या गर्दै भनेका छन्, ‘नेपाल बहुसांस्कृतिक र बहुलराष्ट्र राज्य हो। सबै संस्कृति, समुदाय र परम्परालाई समान सम्मान र समान अवसर दिनु नै राष्ट्रिय एकताको वास्तविक पहिचान हो।’

त्यसैले उनको जोड छ, ‘छठका दुई मुख्य दिन राष्ट्रिय विदाको रूपमा मान्यता दिइयोस्। यो केवल मधेसका जनताको माग होइन, सम्पूर्ण नेपालीको सांस्कृतिक सम्मान र समानताको सवाल हो।’

शुभकामना सन्देशमा उनले छठ पर्वले देशभित्रको असमानता र अवहेलना अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘छठ पर्वले हामी सबैलाई प्रकृतिसँग आत्मीय सम्बन्ध पुनःस्थापित गर्न, श्रम र श्रद्धाको मूल्य बुझ्न र देशभित्रको विभेद, असमानता र अवहेलना अन्त्य गर्न प्रेरित गरोस्।’

अन्त्यमा उनले कामना गरेका छन्, ‘सूर्यदेवको यही तेजले हाम्रो चेतनामा न्याय, समानता र एकताको नयाँ प्रभात ल्याओस्। छठ २०८२ सालले सम्पूर्ण नेपाली हृदयमा स्वदेशप्रेम, सहकार्य र आत्मनिर्भरताको उज्यालो फैलाओस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad