नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले कम्युनिस्टहरूबीच एकताको आवश्यकता झनै बढेको बताएका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकताको अन्तिम तयारी भइरहँदा विप्लवले सामाजिक सञ्जालमार्फत पार्टीको धारणा भन्दै ५ बुँदा सन्देश सार्वजनिक गरेका हुन्।
'कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो सत्रुतापूर्ण सोच नबनाइ प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकारसहितको संघीयता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नु पर्छ,' उनले भनेका छन्।
त्यस्तै उनले देशको स्वाधीनता संकटमा परेको भन्दै देशभक्त शक्तिहरूबीच मोर्चा निर्माण गर्न पनि सुझाव दिएका छन्।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकतानजिक पुगेको एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले नेपालखबरसँग बताएका छन्।
उनले अहिले दस्तावेज आदान-प्रदान गर्ने र धेरै विषयमा सैद्दान्तिक सहमित जुटिसकेको बताए। ‘छलफल चलिरहेको छ, दस्तावेज आदान–प्रदान कुरा भइरहेको छ,’ एकीकृत समाजवादीको वार्ता कार्यदलका संयोजक रहेका भुसालले भने।
यस्ता छन् उनका सुझावहरू
केही समयदेखि समाजवादी मोर्चाका र अन्य सहमत पार्टीहरू बीचको एकताबारे अनेक प्रचार भएका छन्। यसबारे हाम्रो पार्टीको धारणा उल्लेख गरौँ।
१) कम्युनिस्टहरू बीचको एकताको आवश्यकता झनै बढेको छ।
२) एकता संठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण,जीवनव्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन तर टुंगो लागिसकेको छैन।
३) यदी कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ।
४) कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो सत्रुतापूर्ण सोच नबनाइ प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघियता) स्थापना गर्न सयुंक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नु पर्छ।
५) देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनु पर्दछ।

Shares

प्रतिक्रिया