नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्ना समर्थकप्रति आभार व्यक्त गरेका छन्। उनले आफूले पाएको माया र समर्थनले ठूलो अर्थ राख्ने बताउँदै पछिल्ला घटनाबारे शान्त र संयमित रहन सबैलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै लामिछानेले लेखेका छन्, ‘जे भयो, त्यो स्वीकार्य थिएन, र म तपाईंहरूका भावनाहरू पूर्ण रूपमा बुझ्छु- किन धेरैजना त्यसप्रति आक्रोशित वा असन्तुष्टि जनाउनुभयो भन्ने पनि बुझ्छु। तर कृपया, कसैप्रति घृणा वा नकारात्मकता फैलाऔँ भन्ने सोच नबनाऔँ। त्यो कसैलाई पनि लायक छैन।'
उनका अनुसार, आफू सधैं कुरा शान्त र सम्मानपूर्वक समाधान गर्न विश्वास राख्ने व्यक्ति हुन्। उनले थपे, ‘मेरो कानुनी सल्लाहकारले यो विषयमा आवश्यक अध्ययन गरिरहनुभएको छ। अहिले म दुबईमा भएकोले मेरो पूरा ध्यान क्रिकेट वर्ल्ड कप लिग-२ का खेलहरूमा केन्द्रित छु। नेपाल फर्किएपछि म यो विषयमा विस्तृत रूपमा प्रतिक्रिया दिनेछु।’
लामिछानेले अन्त्यमा सबैलाई संयम र सकारात्मकता अपनाउन आग्रह गर्दै भनेका छन्, ‘अन्यायपूर्ण कुरा महसुस हुँदा पनि, दया र सम्मान रोज्न जारी राखौँ। किनकि मलाई लाग्छ- यही बाटोबाट मात्रै वास्तविक परिवर्तन र शान्ति सम्भव छ।’
प्याराडाइम टिभीले तयार गरेको सामग्रीमार्फत आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उलने बुधबार फेसबुकमार्फत आपत्ति जनाएका थिए। लामिछानेले जानाजानी आफ्नो व्यक्तिगत जीवन, मर्यादा र गोपनीयतालाई क्षति पुर्याउने उद्देश्यले त्यो सामग्री तयार गरिएको बताएका थिए।
उनको उक्त पोष्टपछि उनका समर्थकहरूले उक्त टेलिभिजन र उक्त कार्यक्रममा बोलेका कन्टेन्ट क्रियटरप्रति चर्को असन्तुष्टि जनाएका थिए। समर्थकहरूको आक्रोसपछि प्याराडाइम टिभीले सामग्री हटाउँदै माफी मागेको छ भने त्यो कार्यक्रममा भाग लिएका कन्टेन्ट क्रियटरहरूले पनि माफी मागेका छन्।
Shares

प्रतिक्रिया