राजनीति


माओवादी र समाजवादी एकतानजिक, मंसिर १० अघि नै राष्ट्रिय सम्मेलनबाट घोषणा गर्ने

विप्लवका तीन सर्तले एकतामा कठिनाइ
माओवादी र समाजवादी एकतानजिक, मंसिर १० अघि नै राष्ट्रिय सम्मेलनबाट घोषणा गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १४:२, काठमाडौँ

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकतानजिक पुगेका छन्। 

एकीकृत समाजवादीका नेता बेदुराम भुसालका अनुसार अहिले दस्तावेज आदान–प्रदान गर्ने र धेरै विषयमा सैद्दान्तिक सहमित जुटिसकेको बताए। ‘छलफल चलिरहेको छ, दस्तावेज आदान–प्रदान कुरा भइरहेको छ,’ एकीकृत समाजवादीको वार्ता कार्यदलका संयोजक रहेका भुसालले भने।

राष्ट्रिय सम्मेलन गरेर दल दर्ताको समयअघि नै पार्टी एकता घोषणा हुने छ। निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि मंसिर १० गतेसम्मको समय तोकेको छ। 

पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, चुनाव चिह्न
भुसालका अनुसार एकतापछि बन्ने पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेलिनवाद रहने छ। त्यस्तै पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद बनाउने संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहने छ। 


पार्टीको नाम नेकपा समाजवादी हुने सम्भवना रहेको पनि उनले बताए। निर्वाचन आयोगमा पहिले नै नेकपा समाजवादी दर्ता भएकाले त्योसँग एकता गरेर उक्त नाम राखिने भएको छ। ‘पार्टीको नाम नेकपा राख्ने ब्राकेटमा माओवादी वा समाजवादी नराख्ने,’ भुसालले भने, ‘सम्भवत समाजवादी मात्रै हुन्छ होला।’

चुनाव चिह्न भने टुंगिन बाँकी रहेको उनले बताए।

बहुपदाधिकारी नरहने
राष्ट्रिय सम्मेलनपछि एकताको घोषण हुने पार्टीमा बहु पदाधिकारी नहरने भएका छन्। नेकपा कालमा बहुपदाधिकारी बनाउँदा समस्या भएको भन्दै अब कमसेकम एकता महाधिवेशन नहुँदासम्म त्यो कामय रहने छ। 

‘पहिला जस्तो बहुपद नराखौँ भन्ने छ, बहुपद बनाएर व्यवस्थापन गर्न नै सकिदैन,’ भुसालले भने, ‘अब अध्यक्ष, सहअध्यक्ष वा संयोजक, सहसंयोजक मात्रै हुन्छ।’

एकता महाविधेशन कहिले गर्ने भन्ने विषय भने टुंगिन बाँकी रहेको रहेको छ। ‘एकता महाधिवेशनसम्मका लागि हो,’ उनले भने, ‘एकता महाधिवेशन कहिले गर्ने भन्ने टुंगिएको छैन। किनभने चुनावतिर जानुपर्ने हुन्छ। राष्ट्रिय सम्मेनलबाट एकता घोषणा गर्ने।’

विप्लवसँगको एकता टाढिदै, अन्य समूहसँग छलफल 
भुसालका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीसँग भने तत्काल एकताको वातावरण बन्न सकेको छैन। विशेषगरि विप्लवका ३ सर्तका कारण एकता नहुने अवस्था रहेको हो।

‘विप्लवजीहरू अहिले सरकारमा जाने जस्ता कुरा गर्नु भएको छ, त्यसले असर परेको छ,’ भुसालले भने, ‘उहाँको दुईटा कुरा अमिल्दा भएका छन्। उहाँहरुले नेतृत्व आफ्नो हुनुपर्छ भन्ने भएको छ। त्यो कुरा अलि सम्भव देखिन्न।’

‘दोस्रो, अहिलेको सरकारलाई राष्ट्रिय सरकार बनाउने र त्यसमा आफू पनि जाने भन्नु भएको छ। त्यसमा अलि हतारो देखिएको छ।’
त्यस्तै संविधान पुर्नलेखन गनुपर्ने माग पनि विप्लवले राखेका छन्, जुन अहिले सम्भव नभएको माओवादी र एकीकृत समाजवादीको बुझाइ छ। 

अन्य समूहसँग पनि एकताका लागि छलफल चलिरहेको भुसालले बताए। ‘महेन्द्रराय यादवजीको समूह छ, नेकपा समाजवादी भन्ने पनि आयोगमा दर्ता भएको पार्टी छ,’ उनले भने, ‘प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी। अशोक राईजीहरूसँग पनि कुरा भएको छ। उहाँहरुले छठपछि बैठक गर्नुपर्छ भन्नु भएको छ।’

पार्टी एकता सम्भव नभए चुनावी मोर्चाबन्दी पनि हुने छ। ‘आशोकजीले हामी एकता नै गरौँला त्यो भएन भने मोर्चामा बसौँला भन्नु भएको छ,’ भुसालले भने, ‘मोहन वैद्यजीहरुको पनि कुरा त्यही छ। मोहन विक्रम सिंहजीहरुको पनि मोर्चामा जाउ भन्ने छ।’

‘मोर्चा बनाएर जाऊ भन्नेमा धेरैसँग कुरा मिलेको छ। चुनावमा पनि जाने मोर्चा हो,’ उनले थपे। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad