राजनीति


मिति तोकियो, कार्यतालिका आएन : अन्योलमा एमाले महाधिवेशन

मिति तोकियो, कार्यतालिका आएन : अन्योलमा एमाले महाधिवेशन

सागर न्यौपाने
कात्तिक ३, २०८२ सोमबार २०:३, काठमाडौँ

एमालेले नियमित समयभन्दा १३ महिनाअगाडि महाधिवेशन गर्दैछ। २०७८ मंसिरमा दसौँ महाधिवेशन गरेको एमालेले जेन–जी आन्दोलनकै कारण छिट्टै एघारौँ महाधिवेशन गर्न लागेको हो।

२९–३१ सम्म ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर २७–२९ सम्म पोखरामा एघारौँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। 

तर, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा आफ्नो राजीनामा माग्ने योजना तुहाउनको लागि मात्र मिति प्रस्ताव गरेको नेताहरू आशंका गर्छन्। किनकि मिति घोषणा भए पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छैन।

सबैभन्दा मुख्य कुरा, पार्टी सदस्यता नै टुंगो लागिसकेको छैन। यस्तै, सदस्यता प्रमाणीकरणको काम समेत बाँकी छ। महाधिवेशनको लागि प्रतिनिधि छनोटको विधि पनि बनेको छैन। 

महाधिवेशन गराउन विभिन्न उपसमिति निर्माण गर्ने र त्यसलाई केन्द्रीय कमिटीबाटै अनुमोदन गर्ने गरिएको थियो। तर, यसपटक यी सबै काम नभई महाधिवेशन मिति मात्र तोकिएको छ। 

‘आफूमाथि उठेका प्रश्नबाट जोगिनको लागि महाधिवेशन मिति तोक्नुभयो,’ एक नेताले नेपालखबरसँग भने, ‘यो प्रस्ताव नल्याएको भए चर्काे विरोध हुने थियो। तैपनि, ओलीको राजीनामा २२ जनाले माग गरेका थिए। पार्टी पुनर्गठनको प्रस्ताव ५० जनाले गरेका थिए।’

ती नेताका अनुसार महाधिवेशनका लागि आवास, जनपरिचालन, आर्थिक लगायत १४÷१५ वटा उपसमिति बनाएर त्यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने अभ्यास समेत यसपटक कार्यान्वयन भएन।

‘२ महिनाभन्दा कम समय छ। केन्द्रीय कमिटीमा सबै आउनुपर्थ्यो, आएन। अब फेरि केन्द्रीय कमिटी बस्दैन। अहिले नै सबै तय गरेर जाँदा बढी विश्वाससिलो हुन्थ्यो,’ ती नेताले थपे। 

यद्यपि, यी सबै कुरा गर्नुपर्ने भनेर विधानमा उल्लेख गरिएको छैन। केन्द्रीय कमिटीले महाधिवेशन आयोजना गर्ने भएकोले पछि भए पनि अनुमोदन गराउनुपर्छ। 

जेन–जी आन्दोलनको कारण कांग्रेस–एमालेसहितको दुई तिहाइको सत्ता गुमाएका ओलीमाथि एमालेको नेतृत्व छोड्न दबाब थियो। 

तर, उनले पद त्याग गरेनन्। बरु महाधिवेशनको मिति तोके।

‘भित्रैबाट उहाँमा मेरो अझै एकवर्ष कार्यकाल बाँकी छ भन्ने परेको देखिन्छ,’ अर्का पदाधिकारीले भने, ‘नत्र एमालेको महाधिवेशन तोक्ने कुरामा निकै तयारी गरिन्छ। एक महिना २५ दिन मै सबै काम गर्ने भए फास्ट ट्रयाकमै कार्यतालिका बनाइन्थ्यो।’

त्यसमाथि धनुषा र रौतहटमा सदस्यता विवाद टुंगो लागेको छैन। 

प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तिहारलगत्तै कार्यतालिका बनाएर तल्लो तहमा पठाउने बताए। 

‘नीतिगत निर्णय केन्द्रीय कमिटीले गर्ने हो, तालिका अब तिहारपछि बस्ने केन्द्रीय सचिवालयले ल्याउँछ,’ उनले भने, ‘यसलाई केन्द्रीय कमिटीबाटै अहिले नै अनुमोदन गर्नुपर्दैन। पछि गरे पनि हुन्छ।’

संगठन विभाग प्रमुख काशीनाथ अधिकारी पनि गौतमकै जस्तो धारणा राख्छन्। उनले महाधिवेशनको मिति यताउति नहुने ठोकुवा गरे।  

‘पहिलो चरणमा सदस्यता प्रमाणीकरणको काम बाँकी छ, आर्थिक दायित्व स्पष्ट भएको छैन। त्यो दुई हप्ताजतिमा सकिन्छ,’ उनले भने, ‘प्रतिनिधि छनौट गर्न समय लाग्दैन, कति संख्याको महाधिवेशन आयोजना गर्छौं, त्यस आधारमा कुन अनुपातमा प्रतिनिधि गराउने तय हुन्छ, अनि प्रतिनिधि छनोट गर्नु भनेर तल्ला कमिटीमा कार्यतालिका पठाउँछौँ।’

केही विवाद आयो भने संगठन विभागले हेर्ने उनी बताउँछन्। 

‘दस्ताबेजहरू पारित भइसकेको छ, अब प्रतिनिधि चुन्ने मात्र हो,’ उनले थपे। 

थोरै समयमा गर्नुपर्ने काम धेरै भएकोले महाधिवेशन होला कि नहोला भन्ने नेताहरूमा अलमल छ। 

जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले सचिवालयले छलफल गरेर ल्याएको महाधिवेशनको मिति केन्द्रीय कमिटीले पारित गरेको बताए।

महाधिवेशन गर्न चाहेमा यही समयमा गर्न गाह्रो नहुने उनको भनाइ छ।

‘मिति र ठाउँ तोकिहालियो। विधान महाधिवेशनबाट नीति, विधि तय भइसकेकै छ। मंसिरको महाधिवेशन नेतृत्व चयनका लागि हो,’ उनले भने, ‘काम गर्दा मज्जाले भ्याइन्छ। पहिला पनि यस्तै बेला गरेका थियो। नेतृत्वले विधान महाधिवेशनमा पास भएको कुरा र अहिलेका निर्णय संस्थागत रुपमा प्रकाशन गरिदिएपछि रोकिनुपर्ने वा नभ्याउनुपर्ने कुरा छैन।’ 

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा ल्याएको विशेष राजनीतिक प्रस्तावमा महाधिवेशन पोखरामा गर्ने ड्याङ्गै प्रस्ताव ल्याउँदा नेताहरू अलमलमा परेका थिए।

कुनै परामर्श नगरी ल्याएकोमा उनीहरू आश्चर्यमा परेका थिए। पोखरा नै किन छानियो? यसबारे जिल्लाका नेतालाई सुइँको दिइएकै थिएन। 

तर, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम कास्की, गण्डकीका  सबै प्रदेश इन्चार्ज, जिल्ला अध्यक्ष केन्द्रीय कमिटीमै भएकोले सबैको सहमति जुटाउन सहज भएको दाबी गर्छन्।

‘पोखरामा राष्ट्रिय महाधिवेशन कम भएकोले छानेको हो,’ उनले थपे, ‘वातावरण अनुकूल, नेताहरू जानआउन पनि सहज भएकोले त्यही ठाउँ अध्यक्षले रोज्नुभयो।’ 

एमालेले हरेक कार्यक्रममा प्रविधिको उच्च प्रयोग गर्दै आएको छ। यसपटक फास्ट ट्रयाक काम गर्न त्यस्तै विधि अपनाउने नेताहरूको भनाइ छ। 

तर, जेन–जी आन्दोलनकै कारण नेतृत्व छोड्न दबाब महसुस गरिरहेका अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रतिर पनि नजर लगाइरहेका छन्। यी दुई दलले महाधिवेशन गर्छन् कि गर्दैनन्, उनलाई चासो छ।

एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल केन्द्रबाट सर्कुलर जानेबित्तिकै देशभरि प्रतिनिधि छनोटको काम एकैदिन गर्न सकिने बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad