राजनीति


अहिलेको जटिल परिस्थितिमा हाम्रो भूमिका बढेको छ: प्रचण्ड

अहिलेको जटिल परिस्थितिमा हाम्रो भूमिका बढेको छ: प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८२ आइतबार ११:२१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको बताएका छन्। 

माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा प्रचण्डले अहिलेको अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका पनि बढेको बताए। 

उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए

‘गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो, तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ, त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्यौँ’, उनले भने।

प्रचण्डले जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरुले समर्थन गरेको उल्लेख गर्दै युवाको चाहाना र भावनाअनुसार  पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिए।

‘परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो, जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ, संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ’, उनले भने। 

सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको प्रचण्डको भनाई थियो।

‘लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्, जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रुपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्’, उनले भने। 

उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको बताए। संयोजक प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भनेर पत्रकारहरूले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने विषय भएकोमा जोड दिए।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूति गर्ने संविधान लेखेको बताइन्। 

माओवादी केन्द्र ललितपुर महानगर इन्चार्ज एवं संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई उत्साहका नयाँ खालको जिम्मेवारीमा रुपान्तरण गर्न सन्देश प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए। 

माओवादी ललितपुर महानगर समितिका अध्यक्ष रवीन्द्र महर्जनले पार्टीलाई समुदायमा स्थापित गराउँदै जानुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad