राजनीति


रास्वपाले सचिवालयमा ४ जना थपेपछि तोसिमा कार्की असन्तुष्ट

रास्वपाले सचिवालयमा ४ जना थपेपछि तोसिमा कार्की असन्तुष्ट

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८२ आइतबार १०:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको सचिवालय विस्ताप्रति केन्द्रीय सदस्य तोसिमा कार्कीले असन्तुष्टि व्यक्त गरेकी छन्।  

उनले आज सामाजिक सञ्जालमार्फत् पार्टीले शनिबार गरेको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै एक महिनाअघि नै पार्टीमा दर्ता गरेकाे पत्र सार्वजनिक गरेकी हुन्। 

शनिबार भर्चुअल माध्यमबाट बसेको रास्वपा केन्द्रीय समिति बैठकले सोविता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेको थियो। यो सँगै रास्वपा सचिवालय संख्या १५ पुगेको छ। 

नयाँ नियुक्त भएका चारैजना नेता विघटित प्रतिनिधि सभाका सदस्य भएका रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। 

‘रास्वपाको विधानले पार्टी सचिवालयमा २५ जनासम्म सदस्य रहने सक्ने व्यवस्था गरेको छ,’ झाले नेपालखबरसँग भने, ‘हामीले तोसिमा जीलाई पनि सचिवालयमा बस्न आग्रह गरेका थियौँ, तर उहाँले मान्नु भएन।’

निवर्तमान सांसदसमेत रहेकी कार्कीले आज सामाजिक सञ्जाल सार्वजनिक गरेकाे पत्रमा आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको उल्लेख गर्दै सचिवालय विस्तारकाे निर्णयप्रति असन्तुष्टि जनाएकी हुन्।

पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए सचिवालय विस्तार गरिएको उनको आरोप छ। 

‘देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हो,’ कार्कीले चार बुँदासहित लेखेकी छन्, ‘यसका लागि हाम्रो पार्टीको पनि रुपान्तरण आवश्यक हुन्छ। पार्टीको नेतृत्व, सिद्धान्त, नीति कार्यक्रम सबै आयामको पुनरावलोकन, पुनः मूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजीतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad