राजनीति


जारी केन्द्रीय कार्यसमिति बैठकलाई विशेष महाधिवेशन पक्षधरको ६ बुँदे सुझाव

जारी केन्द्रीय कार्यसमिति बैठकलाई विशेष महाधिवेशन पक्षधरको ६ बुँदे सुझाव

नेपालखबर
कात्तिक २, २०८२ आइतबार ११:६, काठमाडौँ

पार्टीको विशेष महाधिवेशन माग गरी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले जारी केन्द्रीय समिति बैठकको लम्ब्याइएकोप्रति आपत्ति जनाउँदै ६ बुँदामा ध्यानाकर्षण गराएका छन्। 

आज (आइतबार) बिहान नयाँ बानेश्वरस्थित थापा गाउँ ब्याङ्केटमा पत्रकार सम्मेलन गरी उनीहरूले विशेष महाधिवेशन माग गरी ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरप्रति गम्भीर बन्न वर्तमान केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका हुन्।

पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापानिकट महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले हस्ताक्षरकर्ताहरूका तर्फबाट तयार ध्याकर्षणपत्र पढेर सुनाएका हुन्। 

‘पार्टी विधानकाे धारा १७ (२) बमोजिम विशेष महाधिवेशनकाे माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन’, उनले भने, ‘केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकारविपरीत केही सदस्यहरूले आफ्ना धारणा राख्नु आपत्तिजनक छ। केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ। अत: विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गर्दछौँ।’

यस्तो छ, हस्ताक्षरकर्ताहरूको ध्यानाकर्षण पत्र-

यतिबेला हामी नेपालकाे राजनीतिक इतिहासकाे गम्भीर, संवेदनशील र महत्त्वपूर्ण माेडमा छाैँ। गत भदौ २३ र २४ गतेपश्चात् नेपालकाे राजनीति नयाँ र विशिष्ट चरणमा प्रवेश गरेको छ। जेनजी आन्दोलनमार्फत नेपाली समाजकाे वस्तुस्थिति, मनाेभावना र चाहना एकमुस्ट रूपमा मुखरित भएको छ। यस दाैरान नयाँ पुस्ताले देखाएको उत्साह, प्रदर्शन गरेको अग्रसरता र न्याैच्छावर गरेको बलिदानले नेपाली समाजलाई युगाैँसम्म प्राेत्साहित, राेमाञ्चित, उद्वेलित र मार्ग निर्देशित गरिरहने छ भन्ने हामीलाई लागेको छ। साथै यस दाैरान भएका ताेडफाेड, आक्रमण र आगजनीजस्ता उग्र क्रियाकलापहरू निन्दनीय छन्, जसले हामी सबै नेपालीहरूलाई सदा बिझाइरहनेछ।

यतिखेर सबै सचेत नेपालीहरूकाे एउटै चासो र चिन्ता छ। अब नेपाली राजनीति कसरी अघि बढ्ला? फाल्गुण २१ गतेका लागि घाेषित प्रतिनिधि सभा निर्वाचन हाेला कि नहाेला? राजनीतिक दलहरूभित्रकाे उकुसमुकुसले कस्तो निकास पाउला? यसै परिप्रेक्ष्यमा बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात् गर्दै हामी नेपाली कांग्रेसका साथीहरूले विशेष महाधिवेशनकाे माग गर्दै पार्टी विधानकाे धारा १७(२) बमोजिम केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेका छाैँ। र जारी केन्द्रीय समितिकाे बैठकलाई सूक्ष्म रूपमा नियालिरहेका छाैँ। यस सन्दर्भमा नेपाली कांग्रेसकाे उज्ज्वल र सुरक्षित भविष्य चाहने महाधिवेशन प्रतिनिधि साथीहरू, जसले पार्टीको बृहत्तर हितका लागि आफ्नो हस्ताक्षरमार्फत पार्टीकाे समग्र रूपान्तरण गर्ने संकल्प लिनुभएको छ, उहाँहरूलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छाैँ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकलाई हाम्रो ध्यानाकर्षण-

१) पार्टी विधानकाे धारा १७ (२) बमोजिम विशेष महाधिवेशनकाे माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन।

२) पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिकाे असफलताको मानकस्वरूप नेपाली राजनीतिमा धेरै घटना/दुर्घटनाहरू भएको पृष्ठभूमि हाम्रोसामु छ। तसर्थ यस कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेकाे छ।

३) आगामी फाल्गुण २१ गते नेपाल सरकारबाट घाेषित प्रतिनिधि सभाकाे निर्वाचनअगावै पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशनकाे माग गरिएको हो। यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन। तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयनतर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको बेहाेरा पुनः स्मरण गराउन चाहन्छाैँ।

४) विगत तीनवटा निर्वाचनमा नेपाली कांग्रेस पार्टीले महाधिवेशन अर्थात् पार्टी भित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास छ। त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो।

५. राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला विलम्ब गर्ने,अलमलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट हामीलाई छैन। असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक बिनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कार्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुंगो नभएकाले वर्तमान कार्य समितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्यत रहेको प्रस्ट देखिन्छ। वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ।

६) केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकारविपरीत केही सदस्यहरूले आफ्ना धारणा राख्नु आपत्तिजनक छ। केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ। अत: विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गर्दछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad