राजनीति


‘दुईदुईपटक आफैँले संसद् विघटन गरेर अहिले पुन:स्थापनाका लागि आन्दोलन गर्नु हास्यास्पद हुन्छ’

केन्द्रीय कमिटी बैठकमा अरबिन्द सिंहको माग: ओलीले अध्यक्ष छाड्नुपर्छ, भण्डारीले सदस्यता पाउनुपर्छ
‘दुईदुईपटक आफैँले संसद् विघटन गरेर अहिले पुन:स्थापनाका लागि आन्दोलन गर्नु हास्यास्पद हुन्छ’

अरबिन्द सिंह र केपी शर्मा ओली


नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १०:३४, काठमाडौँ

ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीका बैठकमा वीरगन्जबाट सहभागी केन्द्रीय सदस्य अरबिन्द सिंहले दुईदुईपटक आफैँले संसद् विघटन गरेकाले अहिले प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै पार्टी आन्दोलनमा जानु हास्यास्पद हुने मत राखेका छन्।

बैठकको तेस्रो दिन शुक्रबार दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले चुनाव बहिष्कार गर्दा अर्को भिडन्त निम्तिने चेतावनी पनि दिएका छन्। 

‘हामी आफैँले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुन्छौँ। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन’, उनले भनेका छन्।

स्मरणीय छ- एमाले र माओवादी केन्द्र एकता गरेर बनेको तत्कालीन नेकपामा विवाद चर्किएर संसद्‌मा बहुमत गुम्ने अवस्था आएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गराएका थिए। तर सर्वोच्च अदालतले त्यही वर्ष फागुन ११ गते संसद् विघटन असंवैधानिक भएको ठहर गरिदिएको थियो। त्यसपछि पनि ओलीले फेरि २०७८ जेठ ८ गते प्रतिनिधि सभा भंग गराएका थिए। तर पुनः सर्वोच्च अदालतले बदर गरिदिएको थियो।

यस्तै सिंहले जनआक्रोश सम्बोधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पनि राखेका छन्। 

उनले आफ्नो सुझावमा भनेका छन्, ‘वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति  र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।’

यसैगरी उनले पूर्वराष्ट्रपति तथा पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न पनि माग गरेका छन्।

उनले भनेका छन्, ‘विद्या भण्डारीको सदस्यता नवीकरण गरि पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।’

यस्तो छ अरबिन्द सिंहले बैठकमा राखेका सुझाव र प्रश्नको पूर्ण पाठ-

१.भदौ २२ गतेको "जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको" राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घण्टा नपुग्दै फेल भयो। फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होला? हाम्रा विश्लेषणहरू वस्तुनिष्ठ हुने गरेका छैनन्। नेतृत्वले के सुन्न रुचाउँछन्, त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन। सक्किने बाटोमा लैजान्छ।

२. पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउदैनौँ।

३. २४ गतेको विध्वंस, २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्तजस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।

४. भ्रष्टाचार र व्यभिचारका डेढ दर्जनभन्दा बढी आरोपहरूमा आरोपितहरू हामी यहीँ छौँ। त्यसको छानबिन गरेर कारबाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्ने?

५. वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकाले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।

६. युवा विद्यार्थी र आम जनता स्वत:स्फूर्तरूपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति हो? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरूका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ? यसमा अझै वस्तुनिष्ठ ढंगले विश्लेषण गर्न जरुरी छ।

७. जनसंगठनहरू कसरी चल्दैछन् भन्ने एउटा उदाहरण- टंक कार्की देखि समीक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामी?

८. ४ वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४-५ जनाबाहेक ३ मिनेट समेत बोल्न नपाउँदा कुनै हीनताबोध र ग्लानी नहुने तपाईं पदाधिकारीहरूले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन।

९. दुईदुईपटक हामी आफैँले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हासोको पात्र मात्रै हुन्छौँ। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन।

१०.विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।

अरबिन्द सिंह, केन्द्रीय सदस्य, वीरगन्ज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad