नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले विगतको नजिरले पनि प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्।
एमालेको जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एक महिनाको समयावधि हेर्दा सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै यस्तो अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना नै उत्तम विकल्प हुने भनेका हुन्।
'पहिलेको नजिरले पनि प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ। निर्वाचन हुन नसक्ने अवस्थामा चाहिँ यो एक महिना हेर्दा छैन भन्ने निष्कर्ष हो। सरकारले नै निर्वाचनको वातावरण बनाएन र बनाउन चाहेन,' उनले भने, 'यस्तो अवस्थामा पुनर्स्थापना विकल्प हुन्छ।'
भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले भदौ २७ गते प्रतिनिधिसभा विघटनको निर्णय गरी फागुन २१ का लागि चुनावको मिति तोकेको छ।
एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसबारे अदालत जाने निर्णय गरिसकेको छ। अहिलेसम्म विघटनविरुद्ध १० वटा रिट दर्ता भएका छन्। कात्तिक १२ गतेका लागि पेसी तोकिएको छ। उक्त दिन सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ अघि बढ्नेछ।
Shares

प्रतिक्रिया