राजनीति


कांग्रेसको मोटरसाइकल र्‍यालीमा प्रहरीको हस्तक्षेप: झण्डा खोस्यो, मोटरसाइकल रोक्यो

कांग्रेसको मोटरसाइकल र्‍यालीमा प्रहरीको हस्तक्षेप: झण्डा खोस्यो, मोटरसाइकल रोक्यो

त्रिपुरेश्वरमा कांग्रेसको झन्डासहित मोटरसाइकलमा आएका नेता कार्यकर्तालाई रोक्दै, झण्डा झिक्दै प्रहरी।


नेपालखबर
असोज २८, २०८२ मंगलबार १३:५४, काठमाडौँ

नेपाली कांग्रेस संबद्ध युवाहरुको मोटरसाइकल र्‍यालीमा प्रहरीले हस्तक्षप गरेको छ। मंगलबार दिउँसो त्रिपुरेश्वर हुँदै पार्टी कार्यालय सानेपा जान लागेको र्‍याली त्रिपुरेश्वरमा रोक्दै प्रहरीले झण्डा खोसेको हो। 

त्यहाँबाट र्‍यालीमा अगाडि बढ्न समेत प्रहरीले दिएको छैन। ‘नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यक्रम छ। र्‍याली बीचमा आएको देखेपछि हामीले त्यहाँ होल्ड गरेका छौँ। हामीलाई जानकारी थिएन। एकिन भइसकेपछि उहाँहरू आ-आफ्नो ठाउँमा जानुहुन्छ’, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको केन्द्रीय कार्यालय सानेपामा आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।  

जेनजी विद्रोहपछि आज सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक हुँदैछन्। भदौ २४ गते उनको निवास बूढानीलकण्ठमा आगजनी गर्दै आन्दोलनकारीले उनी र उनकी श्रीमती आरजु राणामाथि निर्घात कुटपिट भएको थियो। 

घाइते भएका देउवा स्वास्थ्य लाभ गरिरहेका छन्। आजको बैठकमा उनले उद्घाटन मन्तव्य राख्ने र त्यसपछि बाहिरिने तयारी छ।  

उक्त बैठकअघि काठमाडौँका विभिन्न क्षेत्रबाट सानो संख्यामा तरुण दलले र्‍याली निकालेको थियो। उक्त र्‍यालीलाई प्रहरीले रोकेको हो।  

केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन नियमित समयमा हुने वा विशेष भन्नेमा टुंगो लगाउनेछ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माहरू विशेषको पक्षमा छन् भने देउवा समूह नियमितमा जोड दिइएरहेको छ। तर यसमा ठोस धारणा बनिसकेको छैन।  

जेनजी आन्दोलनपछि कांग्रेसमा देउवाको बिदाइ र उनको विकल्प नेतृत्वमा खोजिएको छ। यसकारण पनि यसपटकको केन्द्रीय समिति बैठकलाई महत्वका साथ हेरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad