राजनीति


कांग्रेसको नियमित महाधिवेशन माग गर्दै बुझाइयो ध्यानाकर्षण पत्र

कांग्रेसको नियमित महाधिवेशन माग गर्दै बुझाइयो ध्यानाकर्षण पत्र

नेपालखबर
असोज २७, २०८२ सोमबार १६:३४, काठमाडौँ

नेपाली कांग्रेसको नियमित महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ। नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराईलगायतले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई केन्द्रीय कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।  

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको अगुवाइमा विशेष महाधिवेशन माग गर्दै ५१ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेको बेला सभापति शेरबहादुर देउवा समूहका नेताहरूले नियमित महाधिवेशनको माग गरेका हुन्।   

समयमै भए कांग्रेसको नियमित महाधिवेशनको आगामी मंसिरमा हुनुपर्छ।  

यस्तो छ ध्यानाकर्षण पत्र

सभापतिज्यू,

नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति
विषय: ध्यानाकर्षण सम्बन्धमा।

२०८२ साल असोज २४ गते शुक्रबार नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस सम्बद्ध युवा, विधार्थी तथा तरुण भेलामा, देशको विषम अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गर्नुपर्ने कार्यक्रम र कार्यदिशाको सम्बन्धमा भेलामा सहभागीहरूको तर्फबाट अभिव्यक्त विचार र अवधारणाको आधारमा तपसिल बमोजिमको विषयमा ध्यानाकर्षण तथा सुझावको रूपमा नेपाली कांग्रेस केन्द्रिय कार्य समितिमा पेश गरेको जानकारी गराउँदछौं।

१) राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक प्रणालीप्रति देशी, विदेशी षड्यन्त्रको वादल मडारिइरहेको वर्तमान संकटको अवस्थामा यही भाद्र २३ गते जेनजी युवाहरूको सहभागीतामा भएको सुशासन र भष्ट्राचार विरोधी कार्यक्रमले दिएको राजनीतिक सन्देश र युवाहरुले उठाएका विषयवस्तुहरू तथा भाद्र २३ गते भएको विधार्थी हत्या, भाद्र २४ गते शान्तिपूर्ण आन्दोलनको आवरणमा भएको हिंसा, अराजकता, विध्वंस र राज्य उपद्रवको कारण भएको भौतिक तथा मानवीय क्षति, शान्ति सुव्यवस्था कायम गर्न राज्य असफल भएको घटना, सूचना प्रवाहमा भएको कमी कमजोरीको समीक्षा र विश्लेषण गरी आवश्यक निर्णय लिन नेपाली कांग्रेस केन्द्रिय समितिलाई हार्दिक आग्रह गर्दछौं।

२) जेन्जी विद्रोहको कारण देखाई जननिर्वाचित सरकारलाई विस्थापित गर्ने अराजनीतिक कार्य र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको कारण उत्पन्न राजनीतिक अस्थिरता र संबैधानिक शून्यतालाई चिर्दै वर्तमान संकटपूर्ण राजनीतिको वैधानिक निकास दिन नेपाली कांग्रेसले संसदको सवैभन्दा ठूलो दल तथा संविधान र लोकतन्त्रको पहेदार पार्टीको हैसियत कायम गरी संसदवादी राजनीतिक दल, राजनीतिक संस्थाहरू, नागरिक समाजसँग संवाद र सहकार्यमा व्यवहारिक र वैधानिक राजनीतिक पहलकदमीको नेतृत्व गर्न नेपाली कांग्रेस केन्द्रिय समितिलाई हार्दिक आग्रह गर्दछौं।

त्यसै गरी यही २०८२ फाल्गुण २१ गतेको लागि घोषणा भएको निर्वाचनमा पार्टीको सक्रिय सहभागीता तथा प्रतिनिधिसभाको पुनर्स्थापनाको सम्बन्धमा राजनीतिक र एजेन्डागत छलफल गरी पार्टीको आधिकारिक धारणा निर्माण गर्न र नेपाली कांग्रेसको सो साझा अवधारणा कार्यकर्ता पंक्ति र जन समुदायमा सम्प्रेषण गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण गर्न चाहन्छौं।

३) नेपाली कांग्रेसको १५ औं महाधिवेशनका सम्बन्धमा विधिवत र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म) युवा पुस्ताको सम्मानजनक सहभागीताको माध्यम हो।पार्टीको पुनर्गठन,पुस्तान्तरण र रुपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत नियमित महाधिवेशन मात्रै हो भन्ने हाम्रो निष्कर्ष हो।

तसर्थ १५ औं महाधिवेशनको सुनिश्चितताको लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र महाधिवेशन हुन सक्ने आधार र कार्ययोजना ल्याउन कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौं।

अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग समेत गर्दछौं।

४) यही भाद्र २३ र २४ गते जेन्जी विद्रोहको नाममा भएको जनधनको क्षति, तोडफोड, आगजनी र विध्वंसको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कार्वाही गर्न हामी जोडदार माग गर्दछौ।

आन्दोलनको नाममा नेपालको महत्वपूर्ण राजनीतिक र न्यायीक संस्थाहरु, सास्कृतिक सम्पदा र पुरातात्त्विक महत्वका धरोहरहरुमा भएको यस्तो विध्वंसात्मक गतिविधि, आगजनी र लुटपाटको घटनाले सम्पूर्ण नेपालीको शीर निउराएको छ।

यसक्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, नेपाली कांग्रेसका संस्थापक बी पी कोइरालाको निवास विराटनगर, सर्वोच्च नेता गणेशमान सिंह स्मृति भवन चाक्सिबारी, सन्तनेता किसुन जी आश्रम बाडेगाउँ जस्ता राजनीति धरोहरहरू तथा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्षस्थ नेताको निवासमा भएको आक्रमण, तोडफोड, आगजनी र लुटपाटको घटनालाई हामीले षड्यन्त्रको रुपमा लिएका छौं। सो अपराधिक कार्यको घोर निन्दा गर्दछौं।

यसै गरी भाद्र २४ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य आरजु देउवामाथी भएको बर्बरता पूर्ण आक्रमण र साङ्घातिक हमलाको घोर भत्सर्ना गर्दछौं। घाइते देउवा दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो हत्या गर्ने मनसायले गरिएको सो अमानवीय घटनामा सम्लग्न अपराधीक गिरोहलाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछौं।

५) जेन्जी युवाहरूको भावना अनुरूप सुशासन, पारदर्शीता र भष्ट्राचारमा शुन्य सहनशीलताको मुद्दालाई भने पार्टीले गम्भीरतापूर्वक लिन आवश्यक छ,भन्ने हाम्रो ठम्याइँ हो।

यसका लागि पार्टीबाट सिफारिस भै राज्यका विभिन्न ओहदामा पुगेका, लाभको पदमा बसेका व्यक्तिको आर्थिक अनुशासनलाई पारदर्शी बनाउन केन्द्रीय समितिले "आन्तरिक अनियमितता छानबिन आयोग" गठन गरी २०४६ साल पछिका केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा पुगेको व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न र भविष्यमा पार्टीभित्र कुनै पनि जिम्मेवारी प्राप्त गर्न तथा सार्वजनिक पदको लागि पार्टीबाट सिफारिस गर्दा पारदर्शीताको क्लिन चिट प्राप्त व्यक्ति हुनु पर्ने व्यवस्था गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं।

लोकतन्त्र भन्ने विधिको शासन मात्र होइन यसले नेता कार्यकर्तामा सोही अनुरूप लोकतान्त्रिक व्यवहार जीवन पद्धतिको अपेक्षा राख्दछ। लोकतान्त्रिक शैली,भष्ट्राचारमुक्त आचारण, पारदर्शी जीवन पद्धतिको लागि केन्द्रदेखि स्थानीय तहसम्म लागू हुने गरी आचारण संहिता जारी गर्न समेतआग्रह गर्दछौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad