नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
सभापति शेर्पाले सो आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन आग्रह गरे।
‘तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि छानबिनको दायरामा ल्याएर उहाँहरुको पनि बयान लिएर दोषी देखिए उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ भनेर हामीले यो आज मात्रै होइन, हामीले सेप्टेम्बर ८ को बेलुका जुन घटना घट्यो, त्यतिबेला नै हामीले प्रधानमन्त्री र गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ, उहाँहरुले राजीनामा दिनुपर्छ र, शक्तिशाली छानबि आयोग गठन गरेर यसको निकास दिनुपर्छ भनेर हामीले त्यतिबेला पनि भनेका थियौं भने अहिले पनि त्यो विषयमा हाम्रो स्पष्ट धारणा छ,’ शेर्पाले भने।
उनले थपे, ‘त्यो छानबिनको दायरामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह आउनुपर्छ। उहाँले सिंहदरबार जलाउनुपर्छ भनेर युवाहरुको माईनसेट गर्नु भएको थियो। उहाँले सेप्टेम्बर ८ को आन्दोलनको आह्वान गर्नु भएको थियो। जसले यो आन्दोलनको लिडर भनिरहनु भएको छ। उहाँहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने नेपाल विद्यार्थी संघको ठम्याइ हो।’
नेविसंघले असोज २८ गतेबाट जेन जी आन्दोलनमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रने चेतावनी समेत दिएको छ।
Shares

प्रतिक्रिया