राजनीति


उदय शम्शेरको सुझावः महाधिवेशन गर्ने गरी कार्यवाहक तोकौँ, संसद् पुनर्स्थापनातर्फ नलागौँ

उदय शम्शेरको सुझावः महाधिवेशन गर्ने गरी कार्यवाहक तोकौँ, संसद् पुनर्स्थापनातर्फ नलागौँ

नेपालखबर
असोज २६, २०८२ आइतबार १६:२९, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले महाधिवेशन गर्ने गरी कार्यवाहकको जिम्मेवारी दिन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्। 

उनले परिवर्तित राजनीतिक घटनाक्रम र स्वास्थ्यलाई मध्यनजर गरेर महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित कार्यवाहक तोक्न देउवालाई सुझाव दिएका हुन्। 

कांग्रेसभित्र नेतृत्व परिवर्तनका लागि तत्काल महाधिवेशनको माग उठिरहेका बेला देउवानिकट नेता राणाले निकासका लागि नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। उनले भने, ‘पार्टीलाई एक ढिक्का राख्नुपर्नेछ। नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठिरहेको छ। यस्तो बेला सभापतिज्यूले कार्यवाहकको जिम्मेवारी दिनु उपयुक्त हुन्छ।’

नेता राणाले संस्थापन समूहको बैठकमा पनि पार्टीलाई विभाजनको बाटोमा जान नदिन नेतृत्व लचक हुनुपर्नेमा जोड दिँदै आएका छन्। संस्थापन समूहकै कतिपय नेताहरुले देउवाले कार्यवाहक तोक्न नहुने धारणा राख्दै आएका छन्। 

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका छन्। उनीहरूका अनुसार शनिबारसम्म ५० प्रतिशत बढिले हस्ताक्षर गरिसकेका छन्। कांग्रेस विधानमा ४० प्रतिशतले हस्ताक्षर बुझाए तीन महिनामा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। 

नेता राणाले संसद पुनस्थापनातर्फ पार्टी लाग्न नहुने बताए। 'हाम्रै पार्टीभित्र कतिपय नेताहरुले संसद पुनस्थापनाको कुरा गरिरहनुभएको छ। यो उपयुक्त कुरा होइन । सरकारले फागुनमा निर्वाचनको मिति घोषणा गरिसकेको छ। अब पार्टीले निर्वाचनलाई प्रमुख मुद्धा बनाएर अगाडि बढ्नुपर्छ । त्यसका लागि सरकारलाई पनि वातावरण बनाउन दवाव दिनुपर्छ’, उनले भने। 

साथै उनले पार्टीभित्र भ्रष्टाचारविरोधी अभियान नै सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘अहिलेको जेनजीको प्रमुख माग नै सुशासन, पारदर्शीता हो। अब कांग्रेसले यो विषयमा पनि कठोर हुन जरुरी छ। भ्रष्टाचारका विरुद्ध पार्टी लाग्नुपर्दछ। यसमा शून्य सहनशीलता अनिवार्य हुनुपर्दछ।’ 

देशको प्रमुख राजनीतिक दलको नाताले कांग्रेसले परिवर्तित राजनीतिक अवस्थालाई आत्मसात गर्नुपर्ने उनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad