राजनीति


मापदण्डविपरीत खटाइएका साढे ३ सय सुरक्षाकर्मी फिर्ता, प्रचण्डका २६ र ओलीका १९ घटाइयो

मापदण्डविपरीत खटाइएका साढे ३ सय सुरक्षाकर्मी फिर्ता, प्रचण्डका २६ र ओलीका १९ घटाइयो

उजिर कार्की
असोज २४, २०८२ शुक्रबार १९:४४, काठमाडौँ

पूर्वप्रधानमन्त्रीसहित पूर्वपदाधिकारी तथा बहालवाला पदाधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटाइएका सुरक्षाकर्मीहरू धमाधम फिर्ता गरिएको छ।

केन्द्रीय सुरक्षा समितिको बिहीबारको निर्णयपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले पूर्वप्रधानमन्त्रीको सेवा र सुरक्षाका निम्ति घरमा पठाइदिएका अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेका हुन्। 

सबैभन्दा बढी पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबाट फर्किएका छन्।

प्रचण्डको सुरक्षामा खटिएका सशस्त्रका १४ नेपाल प्रहरीका र १० जनालाई फिर्ता गरिएको छ। गृह मन्त्रालय स्रोतका अनुसार अब प्रचण्डको सुरक्षामा १६ जना सशस्त्र प्रहरी र १० जना नेपाल प्रहरी छन्। 

ओलीको सुरक्षामा खटिएका ६ जना प्रहरी र १३ जना सशस्त्र प्रहरी पनि फिर्ता गरिएको छ। अब उनको सुरक्षामा पनि १० जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरी छन्।

यसअघि प्रचण्डको सुरक्षामा २० जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी खटिएका थिए। ओलीको सुरक्षामा १६ जना नेपाल प्रहरी र २९ जना सशस्त्र प्रहरी खटाइएको थियो। 

मापदण्ड अनुसार पाउने सुरक्षाकर्मी राखेर बाँकी फिर्ता गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 

‘त्यतिबेलाको परिस्थितिअनुसार निर्णय गरेर खटाइएको थियो। तर अहिले सरकारले बदलिँदो परिस्थितिअनुसार नै निर्देशन दिएको होला। हामीले निर्देशन पालना गर्ने त हो। त्यही अनुसार देशभरि नै निर्देशन भइसकेको छ। प्रायः फिर्ता पनि भइसकेका छन्,’ ती अधिकारीले भने। 

सशस्त्रका ७० जना फिर्ता भइसकेको र अझै १५ जना जति फिर्ता हुने क्रममा रहेको पनि उनको भनाइ छ।

यता नोपाल प्रहरीका भने काठमाडौँ उपत्यकाबाट मात्रै बिहीबार १६२ जना फिर्ता भएका छन्। काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिका सुरक्षामा १९२ जना खटाइएको थियो। उपत्यकाबाहिर विभिन्न प्रदेशमा पनि पूर्व तथा बहालवाला पदाधिकारीहरूको सुरक्षामा भन्दै मापदण्डले दिएभन्दा बढी तथा मापदण्डमै नपर्नेलाई पनि दिइएका सुरक्षाकर्मी फिर्ता भइरहेका छन्। 

उपत्यकाबाहिर ८५ जना प्रहरी खटिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा भने अहिले मापदण्डभन्दा बढी सुरक्षाकर्मी नरहेको सुरक्षा स्रोतले दाबी गरेको छ। जेनजी आन्दोलनका क्रममा २४ गते निवाससमेत जलेपछि डेरामा बसेका उनीहरूले आफूले पाउने सुरक्षाकर्मी पनि पूरा संख्यामा लिएका छैनन्। स्रोतका अनुसार, आक्रमणको घटनापछि फिर्ता भएका सुरक्षाकर्मी अझै खटाइएको छैन। अहिले आफन्त र डेरामा बसिरहेका उनीहरूले सीमित सुरक्षाकर्मी लिएका छन्। 

ओलीको सुरक्षामा युवा संघ, प्रचण्डलाई वाईसीएल 
सरकारले झण्डै आधा सुरक्षाकर्मी कटौती गरेपछि पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्ड पार्टीभित्रैका दस्ताको घेरामा रहने भएका छन्। 

सरकारले सुरक्षा कटौती गरेपछि एमाले अध्यक्ष ओलीको सुरक्षा जिम्मा अब भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघ नेपालले लिने एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतले बताएका छन्। 

सुरक्षाकर्मी फिर्ता लगलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएको दाबी गरेका छन्।

भदौ २४ गते बालुवाटारबाट हेलिकप्टरमा नेपाली सेनाको ब्यारेकमा पुगेका ओलीलाई महेश बस्नेतले नै डेरा खोजेर भक्तपुरको गुण्डुमा सारेका थिए। आफ्नो घरनजिकै राखेका बस्नेतले ओलीको सुरक्षाका लागि ठूलो संख्यामा युवा परिचालन गरेका थिए। 

युवा संघकै सुरक्षा बलमा ओलीले बिहीबार औपचारिक कार्यक्रममा समेत निस्किएर वर्तमान सरकारलाई चुनौती दिएका थिए। 

यस्तै प्रचण्डले वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि प्रचण्डको सुरक्षा अब वाईसीएलले गर्ने बताएका छन्। 

प्रचण्डको सुरक्षार्थ खटिएको सुरक्षा टोली शुक्रबार बिहान १० बजेबाट फिर्ता गरिएको र थोरै संख्याका सुरक्षाकर्मी रहेकाले बाँकी सुरक्षा वाईसीएल र पूर्वजनमुक्ति सेनाले गर्ने बताएका छन्। 

सरकारको तजबिजमा सुरक्षा दिने गरिएको, मापदण्डविपरीत नभएको र यो सरकारले नदिने भनेपछि फिर्ता गरिएको दीपशिखाको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad