नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको विद्युती चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि मुद्दा चलाउने भएको छ।
यस प्रकरणमा सार्वजनिक पदाधिकारी पनि जोडिएको कारण भ्रष्टाचार मुद्दामा पनि कारबाही अघि बढाउने तयारी भएको अख्तियारले जनाएको छ। अख्तियारले बिहीबार मात्र महरासँग बयान लिएको थियो।
दिनभर अख्तियारको टंगालस्थित मुख्यालयमा अनुसन्धान अधिकृतले महरासँग बयान लिएका थिए। ‘बयानको क्रम लगभग सकियो, अब मुद्दा चलाउनका लागि अन्तिम चरणको तयारी गर्दै छौँ,’ अख्तियार स्रोतले नेपालखबरसँग भन्यो।
पूर्वसभामुखसमेत रहेका महरालाई यसअघि २०८० चैत ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि यसै प्रकरणमा पक्राउ गरेको थियो। कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएपछि अदालतको अनुमतिमा प्रहरीले ५ दिनसम्म हिरासतमा राखे पनि मुद्दा नचलाएर छाडेको थियो।
इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए। भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको अनुसन्धानबाट देखिएको छ।
‘उहाँले शक्तिको दुरुपयोग गरी तस्करलाई सघाएको देखियो,’ अनुसन्धानमा संलग्न अख्तियारका अधिकारीले नेपालखबरसँग भने, ‘यसअघि अन्य निकायले अनुसन्धान गरे पनि कारबाही नचलाएर अख्तियारमा फाइल पठाइदिएका थिए। त्यसबेलादेखि नै हामीले हेरिरहेका थियौँ। बल्ल अनुसन्धान सकिएर मुद्दा अभियोजनको चरणमा पुगेका छौँ।’
चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा उनीहरूलाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए।
चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सार कार्यालयले २०७९ पुसमा समातेको थियो। तस्करहरुले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए।
भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिमार्फत दबाब दिएका थिए, जसमा महराका बाबुछोरासमेत थिए।
चिनियाँ नागरिकहरू लुइ र दावाजिङ वाङसँग महरा बाबुछोराको पटकपटक सम्पर्क भएको कल डिटेल्स र अन्य प्रमाणहरूले देखाएका थिए।
सुन ल्याउने समूह, भन्सारबाट सुन चोर्ने समूह र सुन बेच्ने समूहमध्ये महराका बाबुछोराको कनेक्सन सुन ल्याउने र बेच्ने समूहसँग देखिएको छ।
सुन ल्याउने समूहमा महराका बाबुछोरा र दुई चिनियाँ नागरिकका साथै नेपालीहरू लोकेन्द्र पौडेल, श्याम शाह, अश्विन, खुवाप्रसाद न्यौपाने जोडिएका छन्।
भन्सारबाट सुन चोरेर बेच्ने समूहमा दिनेश बस्नेत, निर्मल विक, रेवन्त खड्का, दीपेश बस्नेत, गोपाल सुवेदी, विश्वराम खड्का देखिएका छन्।
सुन किन्ने समूहका मुख्य अभियुक्त वेदप्रकाश अग्रवाल देखिएका छन्। अग्रवालसँग सुन चोर्ने समूहका गोपाल सुवेदी, दीपेश बस्नेत र विश्वराम खड्काको कनेक्सन देखिएको छ।
सुन किन्ने समूहमा भने १० जनाभन्दा बढी छन्। ती प्रायः व्यापारीहरू छन्। अग्रवालले व्यापारीसँग डिल गरेका छन्।
भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले महराका बाबुछोराले नै तस्करीको सुनमा चासो राखेको प्रहरीसँगकै बयानमा बताएका थिए।
भन्सार अधिकृत श्रेष्ठलाई भेट्न सुरुमा श्यामसुन्दर साह पुगेका थिए। उनले इलेक्ट्रिक सिगरेट जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगको लागि ल्याएकोले राजस्व दाखिला गरी जाँचपास गरिदिन भनेका थिए। श्रेष्ठले जफत भएको मालवस्तु जाँचपास हुन नसक्ने भनेपछि कृष्णबहादुर महराले टेलिफोनबाट दबाब दिएका थिए।
यही विषयमा कृष्णबहादुरका छोरा राहुलले पनि बारम्बार फोन गरेका थिए।
पूर्वसभामुख महराले भने चिनियाँहरू सुन व्यापारी नभएर फलफूल व्यापारी भएकाले फोन गरेको प्रस्टीकरण दिएका थिए।
यति धेरै प्रमाण र प्रत्यक्ष सम्पर्क देखिए पनि कृष्णबहादुर महरामाथि प्रहरीले मुद्दा नचलाएपछि न्यायिक जाँचबुझ आयोग नै गठन गरिएको थियो। न्यायाधीश डिल्ली आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरामाथि पनि कारबाही गर्न सिफारिस गरेको थियो। उक्त आयोगको प्रतिवेदनपछि महरालाई पक्राउ गरिएको थियो।
Shares

प्रतिक्रिया