राजनीति


एउटा पोखरीमा छट्पटाएको माछालाई अर्को पोखरीमा सार्न खोजेका थियौँ: महेश बस्नेत

एउटा पोखरीमा छट्पटाएको माछालाई अर्को पोखरीमा सार्न खोजेका थियौँ: महेश बस्नेत

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १०:५७,

प्रधानमन्त्री र उच्चस्तरीय समितिको निर्णयअनुसार हामी उपत्यकामा अलपत्र मजदुरहरुलाई क्रमशः बाहिर पठाउन खटिइरहेका थियौं। भक्तपुरको जगातीमा व्यवस्थापन गर्दै थियौं। भकुण्डेबेसीसम्म पुग्ने भनेर सल्लाह भयो।

म र किसन श्रेष्ठ (तनहुँका सांसद) मेरै गाडीमा थियौँ। पूर्वआईजीपी सर्वेन्द्र खनाल सर पनि अनुगमनको सिलसिलामा त्यहीँ आउनु भएको रहेछ। जगातीको प्रहरी पोस्टमा हामी छलफल गर्दै थियौं, ठ्याक्कै उहाँ पनि आइपुग्नुभयो। ए सर जाऊँ न त भकुण्डेसम्म भन्ने कुरा भयो। त्यसपछि गइयो।

जाँदै गर्दा समाजवादीका प्रमुख सचेतक उमाशंकरजीको फोन आयो। उहाँले डा. सुरेन्द्रले गफ गर्न खोज्नु भएको छ भन्नुभयो। ठिकै छ नि त जाऔं के भो र यहाँसम्म आइहालियो भनेर हामी हिँड्यौँ।

रातको समय छ, एक डेढ घण्टा त लाग्ला नि भनेर गइयो। उहाँको महोत्तरीको घरमा बसेर मैथिली खाना खाएर चार घण्टा बडाे स्वादपूर्ण गफ गर्‍यौं। गफकै सिलसिलामा उहाँले ल अब एक पटक प्रधानमन्त्रीज्यूसँगै छलफल गर्नु पर्ला भन्नुभयो। लौ उसो भए जाऊँ न त काठमाडौँ भन्यौं।

त्यसपछि उहाँको पीएसओ, पीए उहाँकै गाडीमा हामी सँगसँगै आयौँ। हामीलाई बर्दिवासमा राखेर उहाँ धनुषा गएर अर्को मान्छेसँग वार्ता पनि गर्नुभयो। 'अर्को माननीय ज्यूको मैले मौखिक सहमति लिएर आएँ, भेटेपछि बाँकी कुरा गरौंला' भन्नुभयो।

अनि, एकजना प्रदेशसभाका सांसद, उहाँ, उहाँका भान्जासहितको टिम उहाँको गाडीमा। पूर्वआईजी साब र मेरो गाडी गरी तीनवटा गाडीमा हामी आयौं। त्यसपछि मेरियट होटलमा बस्ने कुरा भयो। होटलमा बिहानको साढे तीन बजे आएका थियौं।

हामी फ्रेस हुन जान्छौं भनेर आयौं। त्यो दौरानमा उहाँलाई आङकाजी (शेर्पा) जीको नेतृत्वमा एउटा टोली लिन आएछ।

असन्तुष्ट पक्ष तीन जना त्यही होटलमा र १०/११ जना अन्त कतै बसेको हामीले पत्ता लगाएका थियौं। १०/११ जना बसेको ठाउँमा को को जानु भयो थाहा छैन। त्यहाँ चाहिँ आङकाजीसहितको टोली आएर धपाउनु भयो। त्यही सिलसिलामा दुई जना सांसद उम्किनुभएछ। तर डा. सुरेन्द्रलाई चाहिँ समातेरै लानु भो भन्ने सुन्यौं।

उहाँ विश्वदीपजीकोमा जानु भयो। उहाँले अपहरण भनेर भनिदिनुभयो। यो त आफ्ना भए मजदुर, अर्काका भए सुँगुर भन्ने शैली भो।

वास्तवमा साथी भाइको नाताले, एउटा सांसदले अर्को सांसदसँग गफ गर्ने, मुलुकको हितका कुरा, मधेसका हितका कुरा, आफ्नो राजनीतिभित्रका सन्तुष्टि असन्तुष्टि, आफ्नो भविष्यका कुरा गर्ने सामान्य प्रक्रिया नै हो।

उहाँहरुको ३/४ महिनादेखिकै ठूलो असन्तुष्टि थियो। हिजो आजको मात्रै कुरा होइन। विभिन्न माध्यमबाट प्रकट भएका थिए। हामीसँग पनि ती कुरा आएकै थिए। उहाँहरुको आकर्षण नेकपातिर थियो, अन्य दलहरुतिर थिएन। आज सत्तामा भएको पार्टीको कारणले पनि, मधेससँग हुनसक्ने विकासका गतिविधि लगायत धेरै कारणले। हिजो प्रधानमन्त्रीसँग बसेर सहकार्य गरेको र उहाँको कार्यशैलीबाट प्रभावित भएको कारणले पनि उहाँहरुको आकर्षण थियो।

त्यो आकर्षणलाई क्यास गर्न जुनसुकै दलले पनि चाहन्छ। राजनीतिमा आफ्नो दल बलियो बनाउने, आफ्नो दलमा धेरै साथीहरुलाई समेट्ने कुरा त जुनसुकै दलले पनि चाहन्छ। त्यो दौरानमा हामी विविध साथीहरु विविध ढंगले सम्पर्कमा थियौं। उहाँहरुसँग राजनीतिक ढंगले छलफल गरेर प्रक्रिया अगाडि बढाएको हो।

हामीले हिजो धेरै मूर्त कुरा गरिसकेका थिएनौं। उहाँहरुकै राजनीतिक जीवन अब कसरी जाने, के गर्ने अब पार्टीको असन्तुष्टि नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने थियो।

पार्टीमा उहाँहरुको कुरा नसुन्ने, निषेध गर्ने, सांसदको मर्यादा नगर्ने समस्या थियो। मञ्चमा नराख्ने, बोल्न पनि नदिने। नेताहरुले आफ्ना श्रीमती र आफ्ना मान्छेलाई समानुपातिकमा सांसद बनाउने र सांसद बनाउँदा पैसा लिने धेरै आन्तरिक कुरा सेयर भएका थिए। त्यो दौरान अब ठूलै पार्टी लिनुपर्छ र ठूलै पार्टीसँग भविष्य जोड्नु पर्छ। हामी नेकपासँग आकर्षित छौं र नजिक छौं भन्ने कुरा गर्नु भएको थियो।

मेरो ब्याकग्राउन्ड त लामो समय नेकपामा बसेको यहाँको संस्थापकमध्येको एउटा मान्छे हुँ भन्दै छलफल प्रक्रिया अगाडि बढेको थियो। यो राजनीतिक छलफलको प्रक्रिया हो। उहाँहरु अपहरण भन्दै हुनुहुन्छ। त्यसो होइन, यो राजनीतिक गतिविधि हो। यसलाई अन्यथा नलिनु होला।

अब रह्यो पूर्वआईजीको कुरा। उहाँ एउटा नागरिकको हिसाबले राजनीतिक गतिविधिमा सहभागी हुन किन पाउनुहुन्न? नवराज सिलवाल अहिले सांसद हुनुहुन्न र? भोलि सर्वेन्द्रजी कुनै क्षेत्रबाट जितेर सांसद भएर गृहमन्त्री हुनुभयो भने त्यसलाई अन्यथा ठान्नु पर्ने के छ र? पूर्वआईजीपीले साथीभाइका हिसाबले साथीहरुसँग बस्ने यस्ता प्रक्रियामा सामेल हुने कुरालाई हामीले अन्यथा ठान्न हुँदैन। बहालवाला भए ठान्न हुन्थ्यो।

हामीलाई प्रधानमन्त्रीले पठाएको होइन। हामी पनि एउटा राजनीतिक प्राणी हौं। सानै भए पनि नेतै हौं। उहाँहरुको असन्तुष्टि छरपस्ट हुन खोज्दै थियो, एउटा पोखरीको माछा बाहिर निस्कने अवस्था थियो। त्यसलाई हामीले अर्को पोखरीमा लैजान खोजेका मात्रै हौं। त्यो पहल लिने दौरानमा उहाँको चाहना प्रधानमन्त्रीसँग भेट्ने भएकाले त्यसको सहजीकरण गर्ने प्रतिवद्धता हामीले जनाएका हौं।

प्रधानमन्त्रीसँग मैले कुरा गरेको थिएँ। राति आएकाले बिहान ८/९ बजे प्रधानमन्त्रीसँग भेट्ने भन्ने कुरा भएको थियो। त्यो माहोलचाहिँ मैले बनाएको थिएँ। उहाँले भेट्न चाहनु भएको थियो तर उहाँलाई लगियो। उहाँको चाहनामा तुसारापात गरे केही साथीहरुले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .