राजनीति


कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालयमै बस्ने, उपसभापति खड्काले अध्यक्षता गर्ने

कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालयमै बस्ने, उपसभापति खड्काले अध्यक्षता गर्ने

जेनजी आन्दोलनमा आगोलागी हुँदै गर्दा कांग्रेस केन्द्रीय कार्यालय


नेपालखबर
असोज २३, २०८२ बिहिबार १२:२०, काठमाडौँ

नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठक पार्टी कार्यालयमै बस्ने तय भएको जानकारी दिए। 
‘आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक दिउँसो १ बजे बस्दैछ। बैठक पार्टी कार्यालयमै बस्ने तय भएको छ’ उनले नेपालखबरसँग भने। 

यसअघि बुधबार सभापति शेरबहादुर देउवाले आजका लागि बैठक आह्वान गरेका थिए। बैठक कहाँ बस्ने भन्ने सार्वजनिक भएको थिएन्। कांग्रेस नेताहरुका अनुसार आजको बैठक हिमालयन होटल ललितपुरमा बस्ने तय भएको थियो। 

‘सुरक्षा र स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सभापति बैठकमा सहभागी नहुने भन्ने कुरा आयो। त्यसपछि कोषाध्यक्षको निवास मा बस्ने कि भन्ने पनि कुरा भएको थियो,’ कांग्रेसका एक पदाधकारीले नेपालखबरसँग भने, ‘त्यहाँ पनि सुरक्षालाई ध्यान दिँदै पार्टी कार्यालयमै बैठक बस्ने भनिएको छ।’

कांग्रेस केन्द्रीय कार्यालय पनि भदौ २४ गतेको जेनजी आन्दोलनबाट क्षतिग्रस्त भने छ। 

देउवा आफैँले बोलाएको बैठकमा पनि सहभागी नहुने भएपछि आजको बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन्।  
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले पहिलोपटक आज (बिहीबार) दिउँसो १ बजे बस्ने गरी कांग्रेसको पदाधिकारी बैठक बोलाएका थिए। 
 
‘सभापति बिरामी बिरामी नै हुनुहुन्छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालखबरसँग भने। 
जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको आवाज उठिरहेको छ। 

आजको पदाधिकारी बैठकले असोज २६ का लागि तय केन्द्रीय समिति बैठकका एजेन्डा, महाधिवेशन, निर्वाचनलगायतबारे छलफल गर्नेछ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad