प्रधानमन्त्री सुशीला कार्कीले आसन्न विपद्लाई ध्यानमा राखी यात्रामा सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेकी छन्।
राष्ट्रका आज नाममा सम्बोधन गरी उनले अत्यावश्यक नभएसम्म यात्रा नगर्न र सरकारी सहयोग लिन अप्ठ्यारो नमान्न पनि भनेकी छन्।
प्रधानमन्त्री कार्कीको पूरा सन्देश
देशभर भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै २ दिन निरन्तर वर्षा हुने सम्भावना छ। हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौँ। जोखिमको परिस्थिति बढ्नेक्रममा छ।
हाल नदीनालाहरुको बहाव उच्च सतर्कताको तहमा छ। र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ। यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु राहत र उद्धारका लागि प्रतिकूल प्राकृतिक परिस्थितिबाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन्। यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी अन्य सेवाग्राही निकायहरु नागरिकलाई यथासम्भव सहयोग र जोखिमपूर्ण क्षेत्रहरु सुरक्षित गर्न२४ सै घण्टा तयार अवस्थामा रहेका छन्।
भिडिओ:
हामीले सबै उपलब्ध स्रोतहरु परिचालन गरेका छौँ। र सबै आम नागरिक राष्ट्रिय र स्थानीयहरुसँग मिलेर काम गरिरहेका छौँ। हामी महत्त्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पूर्वाधारको सक्रियरुपमा निगरानी गरिरहेका छौँ। र अवस्थाले अनुमति दिनेबित्तिकै सडकमार्गहरु पुनः खोल्नलाई प्राथमिकता दिने छौँ। हाम्रा टोलीहरुले काम गरिरहेको बेला म सबैलाई म प्रत्यक्ष अपिल गर्दछु, तपाईँ जहाँ जुन अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्। बाढीको पानीमा या पहिरोमा गाडी नचलाउनुहोस् वा आवतजावत नगर्नुहोस्। तीव्र बहाब डुबान र अस्थिर सडकहरुको खतरा उच्च छ। यदि तपाईँ डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस्। कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आँकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस्।
प्रहरी र अन्य विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारीक चेतावनी र सूचनाहरुलाई ध्यान दिनुहोस् । तपाईँहरुको सुरक्षा नै हाम्रो सर्वपरी चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्। सम्भाव्य विपद्को जोखिमको आँकलन गर्दै सरकारले मिति २०८२÷०६÷१९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हामी तपाईँहरुको चिन्ता र कठिनाइलाई बुझ्छौँ। म प्रष्ट पार्न चाहन्छु– तपाईँ यसमा एक्लो हुनुहुन्न। राज्यका सम्पूर्ण स्रोतहरु आज तपाईँहरुसँग छन्। हामी यस जोखिमलाई मिलेर पार गर्नेछौँ। हामी नियमित रुपमा अध्यावधिक सूचनाहरु प्रशारण गरिरहने छौँ।
अन्तमा यहाँहरुसँग मेरो अनुरोध छ – यहाँहरु सुरक्षित र सावधानीपूर्वक रहनुहोस् धन्यवाद।

प्रतिक्रिया