भदौ २३ गते जेन–जीले गरेको प्रदर्शन र त्यसमा सरकारले बर्बर दमन गर्दा धेरै युवाको ज्यान गएपछि हिंसा मच्चियो। भदौ २४ गते मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, सर्वाेच्च अदालत र राष्ट्रपति कार्यालयसहित मुख्य चार राजनीतिक दलका नेताको घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड भयो।
हिंसा चर्किन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। फलस्वरूप शासन प्रणालीमै उथलपुथल भयो।
यही कारण नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका मुख्य पार्टीभित्र नेतृत्व फेर्नुपर्ने आवाज उठ्न थालेको छ।
माओवादी केन्द्रले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ र केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण पनि गरिसकेको छ। तर, महाधिवेशनबाट फेरि पनि पुष्पकमल दाहाल प्रचण्ड नै फेरि अध्यक्ष बन्ने अड्कलबाजी केही नेताहरुले गरिरहेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको मुख्य जस लिँदै आएका प्रचण्ड नयाँ पुस्ताको आकांक्षा अनुसार पद त्याग गर्न तयार छन कि छैनन्?
माओवादी केन्द्रका निवर्तमान उपमहासचिव वर्षमान पुनः मंसिरमा हुने विशेष महाधिवेशनबाट पार्टीमा क्रमभंग हुनेमा आफू विश्वस्त रहेको बताउँछन्। नेपालखबर ‘तत्कालै’मा कुरा गर्दै उनले युवाहरूको चाहना अनुसार पार्टीलाई रूपान्तरण गर्ने दाबी गरे।
‘अध्यक्ष प्रचण्डले राजनीतिमा पनि क्रमभंग हुन्छ, नेतृत्वमा पनि क्रमभंग हुन्छ र पार्टीमा पनि क्रमभंग हुन्छ भनेर केन्द्रीय समितिमा राख्नुभएको हो,’ उनले भने, ‘क्रमभंग के होला, हामी बहस गर्छाैँ। हामीले दिएको जवाफ अरु पार्टीलाई पनि प्रेरणा र ऊर्जा दिने खालको होस् भन्ने हाम्रो सोच हो।’

‘जेन–जीको माग सम्बोधन गर्न महाधिवेशनमा जाऊँ भनेर हामीले निर्णय गरेका छौँ,’ पुनले थपे, ‘हामी नै पहिलो दल हो, जेन–जी आन्दोलनको स्पिरिटलाई पक्रिने। त्यस अनुसार आफूलाई रूपान्तरण गर्ने कोसिस गरेका छौँ।’
पार्टीमा रूपान्तरण र पुस्तान्तरण गर्नकै लागि महाधिवेशन गर्न लागिएको र अब कस्तो नेतृत्व ल्याउनुपर्छ भन्नेबारेमा समेत प्रचण्डले गृहकार्य गरिरहेको पुनको भनाइ छ।
‘कमरेड प्रचण्ड राजतन्त्र अन्त्य गर्ने, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता सामाजिक न्यायतिर नेपाल राज्यलाई लैजाने युग नेता हो,’ पुनले थपे, ‘त्यस अर्थमा उहाँको सम्मान, उहाँको भूमिका बनाइराख्नुपर्छ। सँगसँगै उहाँले महसुस गर्नुभएको छ, सधैँ यही रूपमा चल्दैन। हामीले पनि भूमिका नयाँ बनाउनुपर्छ।’
नयाँ पुस्ताको माग सम्बोधन गर्न, राजनीतिक रूपले प्रशिक्षित गर्न र माओवादीलाई नयाँ पार्टी बनाउन विभिन्न मोडलमा अध्ययन भइरहेको उनले बताए।
‘हामी बहस गर्छाैँ, अध्यक्ष प्रचण्डको भूमिका राम्रो हुने, इतिहासको भूमिका अझै स्थापित हुने, बलियो हुने, त्यसले देश, समाज र पार्टीलाई गाइड र प्रेरित गरिराख्ने पनि होस्, साथसाथै नयाँ पुस्तामा नेताहरू पनि तयार हुँदै जाऊन्,’ पार्टी संरचनाको मोडालिटीबारे उनले भने।

जेन–जीले गरेको आन्दोलनमा मुख्य दल र नेताका घर छानीछानी आगजनी र आक्रमण हुनु सामान्य घटना नभएकोले यसको न्यायिक छानबिन हुनैपर्ने उनी बताउँछन्।
‘यो जेन–जीले मात्र गरेको होइन, कहीँ न कहीँ घुसपैठ भएको छ, कोही न कोही माओवादी मन नपाराउने तत्वले यो द्विविधा सिर्जना गरेर दलीय व्यवस्था नै खत्तम बनाउन खोज्ने शक्तिहरू पनि छन कि भन्ने आशंकाहरू छन्, त्यसैले आयोग बनेको छ, त्यसले तथ्य स्थापित गरोस्,’ उनी भन्छन्, ‘जेन–जी आन्दोलन एउटा छ, भावना अर्काे छ, गरिएको छ अर्काे! को हो त्यो घुसपैठ गर्ने, त्यो कुरा पत्ता लगाओस् र कारबाही गरियोस् भन्ने हाम्रो भनाइ छ।’
राष्ट्रिय स्वाधीनतामाथि चुनौती आएको विश्लेषण गर्दै उनी फागुन २१ मा तय भएको चुनाव जसरी पनि गर्नुपर्ने बताउँछन्।
‘चुनाव गर्नकै लागि यो सरकार बनेकाले तोकिएकै समयमा हुनुपर्छ, त्यसमा माओवादी लागिसक्यो, तयारी गरिसक्यौँ, अब सबै दल चुनावमा होमिनुपर्छ,’ पुनले भने।

चुनावमा आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा लिएर जाने पुनले बताए।
जेन–जीलाई विचार, राजनीति र प्रणालीमा छलफल गरेर, संयम, धैर्य लिएर व्यवस्था, संविधान रक्षा गर्दै अघि बढ्न उनले आह्वान गरे।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले लगानीकर्तालाई पनि देशमा लगानी गर्न सुझाव दिए।
उनले अरु केके भने त? हेर्नुहोस्, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँगको नेपालखबर ‘तत्कालै’ :

प्रतिक्रिया