नेकपा (एमाले) को सचिवालय बैठक बसिरहँदा पार्टीसम्बद्ध अघि एमाले देशभरीका युवा नेताहरूले पदाधिकारीहरूलाई म्यासेजको अभियान चलाएका छन्।
‘परिर्वतनका लागि युवा समूह’को नाममा उनीहरूले अब एमालेसामु दुईवटा विकल्प रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र देशलाई संकटमा लैजान नहुने बताएका हुन्। सबै पदाधिकारीहरूलाई म्यासेज गरिएको निराजन पौडेलले बताए।
अखिलका पूर्व सचिव समेत रहेका युवा नेता दिपेश पछाईका अनुसार उनले म्यासेजमा भनेका छन्, ‘हामी कम्युनिष्ट आन्दोलनको नयाँ घुम्तीमा उभिएका छौं। अब एमालेसँग दुई विकल्प छ, ‘कि सच्चिने, कि त सक्किने?’ एमाले सक्कियो भने कम्युनिष्ट आन्दोलन पनि सक्किने बाटोमा जानेछ। देश संकटमा पर्नेछ। एमालेको वर्तमान नेतृत्वबाट एमाले, कम्युनिष्ट आन्दोलन र देशको रक्षा सम्भव छैन। हामीलाई गहिरो विश्वास छ, ‘गलत नेतृत्वको रक्षा गरेर कम्युनिष्ट आन्दोलन र देशलाई संकटमा लैजानु हुने छैन।’
त्यसैले पार्टीको सबै संरचनामा रूपान्तरण र पुनर्गठन। निर्णय आजै गर्नुहोला। नयाँ सन्देश प्रवाह गर्नुहोला। हामी पुनर्गठन सन्देश बोकेर दशैंमा गाउँ जानेछौं।’
भदौ २३ को जेनजी विद्रोहपछि पहिलो पटक नेकपा (एमाले) को सचिवालय बैठक जारी छ। सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ।
तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको दिन एक विज्ञप्ति निकालेर जेनजी युवा आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश नदिइएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए।
ओलीले ५ मिनेट मात्रै ढिला भएको भए प्रर्दशनकारीहरूले आफूलाई मार्ने बताएका थिए। ओलीलाई २४ गतेको विद्रोहमा सैनिक हेलिकोप्टरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भगाएर सैनिक ब्यारेक शिवपुरि लगिएको थियो।
ओलीले भनेका छन्, ‘५ मिनेट मात्रै ढिला गरेको भए मलाईचाहिँ मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनायो, मलाईचहिँ मार्ने नै थिए। मैले आफ्नो तयारी गर्न पाइँन। मलाई सेक्युरिटीमा अलिकति भरोसा भयो। सेक्युरिटीले हामीले केही गर्न सक्दैनौँ भन्यो। अन्तिममा सेनाले भगाईसम्म दियो।’
Shares

प्रतिक्रिया