राजनीति


शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खाने बस्ने व्यवस्था, भन्छन्: समय कम छ, २४ घण्टा खट्छु

शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खाने बस्ने व्यवस्था, भन्छन्: समय कम छ, २४ घण्टा खट्छु

नेपालखबर
असोज ७, २०८२ मंगलबार २१:१८, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू काममा लागेपछि फत्ते नगरेसम्म नउठ्ने बताएका छन्। 

मंगलबार केशरमहलस्थित शिक्षा मन्त्रालयमा खाने, बस्ने व्यवस्था मिलाउँदै मन्त्री पुनले समय खेर नजाओस् भनेर मन्त्रालयमै बसेको स्पष्टीकरण दिए।

‘बाहिर बस्ने ठाउँ पनि छैन। बाहिर काम पनि छैन। २४ घण्टा मन्त्रालयमा बसिन्छ’ उनले भने, ‘म कुनै काममा लागेपछि लागेको लाग्यै गर्ने मान्छे हो। यहाँ अलिअलि गर्ने अनि उत जाने, त्यस्तो होइन। अहिलेदेखि होइन, उहिल्यै चितवनमा शिक्षक हुँदा देखि नै हो। अब मन्त्री भइएको छ। के के काम छ यहाँ कुरा त बुझ्नुपर्यो। समय एकदमै छोटो छ फेरि। अलि लामो समय छ, यसो बिस्तारै बिस्तारै गरौँला नि भन्ने पनि छैन के यहाँ।’

उनले मन्त्रालयमा फराकिलो ठाउँ भएकाले सुरक्षाकर्मीलाई पनि बस्न सहज हुने बताए। मन्त्रीको प्रोटोकल अनुसार सुरक्षाकर्मीसहित बाहिर डेरा खोज्न असहज हुने उनको भनाई थियो। 

मन्त्री पुनले समय अत्यन्त छोटो भएकोले आफू बाहिर उद्घाटन, भाषणमा नजाने र मन्त्रालयकै काममा तल्लिन हुने बताए।

उनले भने, ‘जम्मा ६ महिनाको लागि त हो। यि एक महिना त के के गर्दा गइसक्छ। मन्त्री बन्दै के के गर्दै गइसक्छ। अब रहन्छ पाँच महिना। पाँच महिना चाहिँ अन्तिम महिना के हुन्छ भन्दा चुनावको लागि हुन्छ। चुनावको तयारी हुन्छ। मन्त्रालयमा काम गर्ने सबै चुनावतिर लाग्नुपर्ने हुन्छ। कामै हुँदैन। अनि हुने भनेका कति? चार महिना। यो चार महिनामा के? बसेर, रिल्याक्स गरेर, घुमेर कार्यक्रमहरूमा उद्घाटन गर्न गएर, कतै भ्रमण गएर, कुनै सभा सम्मेलनमा उद्घाटन गरेर टाइम बिताउन थाल्यो भने त हुँदैन क्या। त्यसैले यहाँ बसेको।’ 

सोमबार मन्त्रीको शपथ लिएका पुनले आफूलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। 

उनको आग्रह अनुसार केशर महलमै उनका लागि भान्छासहित सुत्ने कोठाको प्रवन्ध गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad