नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताएका छन्।
प्रगतिशील लेखक संघ, नेपालले आइतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा व्यवस्था विरोधी तत्वहरूले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताएका हुन्।
तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो।
उनले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारणमात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताए। उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुल्लमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरूले चलखेल गरिरहेको दाबी गरे।
उनले भने, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तीको कुरा छ। म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यूलाई कि उहाँले केही केही अडान लिनु भएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरु बचेको पनि छ। तर अगाडिका दिनहरु कसरी जान्छन? भन्न सकिँदैन।’
उनले थपे, ‘मेरो विचारमा यस्तो स्थिति सृजना गर्ने कोशिस हुनेछ, जहाँ चुनाव हुन नसकोस। एउटा रिक्तता सृजना होस्। वर्तमान प्रधानमन्त्रीले चुनाव गराउन सकिन भनेर हटन बाध्य बनाइयोस्। एउटा भ्याकुम खडा गरेर त्यही भित्र खेल्न सकियोस्। यो दिशामा लैजाने प्रयत्नहरु आगामी दिनहरुमा हुनेनै छन।’
उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरूलाई पेलेर निर्वाचन गराउन प्रयास भएपनि त्यो भने सम्भव नहुने बताए।
Shares

प्रतिक्रिया