राजनीति


प्रधानमन्त्रीलाई सहयोग गर्न मन्त्रिपरिषद् कार्यालयमा विज्ञ टिम बन्ने

प्रधानमन्त्रीलाई सहयोग गर्न मन्त्रिपरिषद् कार्यालयमा विज्ञ टिम बन्ने

नेपालखबर
असोज ४, २०८२ शनिबार २०:२७, काठमाडौँ

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई सहयोग गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विज्ञहरूको टिम बन्ने भएको छ।

मन्त्रिपरिषद् कार्यालयमै रहने गरी उक्त टिम बन्न लागेको हो। यसको नेतृत्व अजयभद्र खनालले गर्नेछन्।

खनाल द हिमालयन टाइम्सका पूर्वसम्पादक हुन्। उनले अमेरिकी सहायताबाट सञ्चालित द एसिया फाउन्डेसनमा पनि काम गरेका छन्।

नेपालमा शान्ति प्रक्रिया चलिरहँदा एसिया फाउन्डेसनले नै यहाँका सबै राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरू सम्मिलित ‘नेपाल ट्रान्जिसन टु पिस’ (एनटीटीपी) इनिसिएटिभ नामक परियोजना सञ्चालन गरेको थियो। खनालले त्यसमा कार्यकारी निर्देशक भएर पनि काम गरेका थिए। केही समय उकालो अनलाइनमा आबद्ध रहेका उनी पछिल्लो समय भने एउटा अनुसन्धान संस्थामा छन्। सेन्टर फर सोसियल इनोभेसन एन्ड फरेन पोलिसी नामक उक्त संस्थाले बीआरआईलगायतका परियोजना र नेपालमा चिनिया प्रभावका विषयमा धेरै प्रतिवेदन तयार गरेको देखिन्छ।

उक्त टिममा गोविन्दनारायण तिमिल्सिना पनि रहनेछन्। तिमिल्सिना उज्ज्वल थापा फाउन्डेसनका उपाध्यक्ष हुन्। विवेकशील नेपाली पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा यो फाउन्डेसन स्थापना गरिएको हो। उनले विभिन्न राजनीतिक र सामाजिक अभियानहरूमा उज्ज्वल थापासँग सहकार्य पनि गरेका थिए। थापाको भने कोरोना महामारीका बेला निधन भएको थियो। थापाको वैकल्पिक राजनीतिको अभियान अहिले छिन्नभिन्न छ।

‘उहाँहरूले टिम बनाएर आउँछौँ भन्नुभएको छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘फाइनल भइसकेको छैन। अब केही दिनमै यसको टुंगो लाग्ला।’ यस्तै प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सघन छलफल गरिरहेकी छन्। सकेसम्म समावेशी, विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन गर्ने प्रयासमा प्रधानमन्त्री कार्की र उनको टिम लागिपरेको मन्त्रिपरिषद्का एक सदस्यले बताए।

कार्कीले आफू प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन गत आइतबार तीन मन्त्री नियुक्त गरेकी थिइन्। तीन मन्त्रीलाई ६ वटा मन्त्रालयको जिम्मा दिइए पनि बाँकी १५ वटा मन्त्रालयको विभागीय जिम्मेवारी कार्कीकै काँधमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad