राजनीति


चुनावबाट दायाँ बायाँ गर्नुहुन्न, संविधान संशोधन ‘फ्रेस म्यान्डेट’ लिएर मात्रै: पूर्वराष्ट्रपति यादव

चुनावबाट दायाँ बायाँ गर्नुहुन्न, संविधान संशोधन ‘फ्रेस म्यान्डेट’ लिएर मात्रै: पूर्वराष्ट्रपति यादव

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १५:५८, काठमाडौँ

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गरेका छन्।

संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा पूर्वराष्ट्रपति डा यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताए।

सबै नेपाली मिल्नुपर्ने र गल्ती गर्नेलाई सजाय हुनुपर्नेमा जोड दिँदै उनले अहिले आन्दोलन गर्ने पुस्ता तथा सबैलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न पनि आग्रह गरे। 

रासससँग कुरा गर्दै पूर्वराष्ट्रपति डा यादवले भने–
आज संविधान दिवस। हामी सबै नेपालीहरुका लागि आजको दिन ऐतिहासिक दिन हो। यो संविधान, हामीले दुई–दुईपटक भएको संविधानसभाको निर्वाचनबाट ल्यायौँ। यो संविधानको पृष्ठभूमिबारे मैले सधैँ भन्दै आएको छु, यो नेपाली जनताको ८०/९० वर्षको आन्दोलन र सङ्घर्षको उपलब्धि हो।

यो संविधान संस्थागत रुपमा विभिन्न राजनीतिक पार्टीहरुले २००७, २०४६ साल र २०६२/६३ सालमा गरेका आन्दोलनको योगदानको प्रतिफल हो। त्योभन्दा पहिलेदेखि नागरिक स्वतन्त्रता र सर्वोच्चताका लागि नेपाली जनताले एक शताब्दी नै लड्यो। त्यसपछि यो संविधान पाएका हौँ।

यो संविधान धेरै कष्ट, बलिदान र ठूलो सङ्घर्षले ल्याएका हौँ। नेपालको सबै शक्तिले यसलाई स्वीकार गर्दै चुनावी प्रक्रियामा भाग लिँदै आएको छ। यो संविधानलाई लागू गर्ने क्रममा केही त्रुटिहरु पनि भएका छन्। त्यसलाई समयक्रममा संशोधन गरेर लैजानुपर्छ । वास्तवमा राजनीतिक दलहरु संविधान र लोकतन्त्रका खम्बा हुन्।

अहिले नयाँ पुस्ताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देशको आकाङ्क्षासहित जुन आन्दोलन गर्नुभयो, त्यसले सुन्दर र स्वस्थ्य नेपाल बनाउने, रोजगार, शिक्षा र स्वास्थ्यलगायत सबै राम्रो होस् भन्ने देखिन्छ। उहाँहरुको आन्दोलन सही थियो। तर तत्कालीन सरकार र सुरक्षा प्रशासनले त्यसलाई ‘कमान्ड’ गर्न सकेन।

युवाहरूले शहादत दिए, प्रदर्शनमा नरसंहार भयो। त्यसको जति आलोचना गरे पनि कमै हुन्छ। आन्दोलनको दोस्रो दिन विध्वंशकारी एजेन्टहरु पसे। विध्वंशकारी गतिविधिले राष्ट्रिय सम्पत्तिदेखि लोकतन्त्रका तीनै अङ्ग कार्यपालिका, न्यायपालिका र विधायिकादेखि राष्ट्रपतिको कार्यालयमाथि पनि आक्रमण भयो। देशको सार्वजनिक सम्पत्तिलाई ध्वस्त पारेर व्यावसायिक क्षेत्रका संस्थानमाथि पनि आक्रमण भयो। यस्तो काम अराजक तत्वले मात्र गर्न सक्छ। राष्ट्रको हित सोच्ने नेपाल आमाका सन्तानले यस्तो जघन्य अपराध गर्न सक्दैन। बदमासी गर्नेलाई कानुनले सजाय दिनुपर्छ। तर यसका नाममा राष्ट्रिय एकता खलबल हुनु हुँदैन। हामी सबै मिलेर अगाडि बढौँ।

यस आन्दोलनका क्रममा भएका जघन्य अपराधहरुको न्यायिक जाँचबुझ गरेर कानुनसम्मत कारबाही हुनुपर्छ। जहाँसम्म अब कसरी अघि बढ्ने भन्ने कुरा छ, स्वच्छ छवि भएका पूर्वप्रधानन्यायाधीश (न्यायमूर्ति) सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ। सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले निकास दिनुभएको छ। सोही अनुसार हामीले यही संविधानलाई आधार मानेर आगामी दिनमा राजनीतिक दलहरुले र नयाँ पुस्ताले आफ्नो दल बनाउन पाउँछ। त्यसका लागि सबैले जनताबाट ‘फ्रेस म्यान्डेट’ लिएर आउन पाउँछ।

‘फ्रेस म्यान्डेट’ लिएर आएर यही सदनबाट संविधानमा कहाँ कहाँ संशोधन गर्नुपर्ने हो, समयसापेक्ष रुपमा संशोधन गरेर अघि बढेर यो संविधानलाई बचाउनुपर्छ। वास्तवमा यो संविधान लोकतान्त्रिक र गणतान्त्रिक छ। सङ्घीयता आफैँमा समावेशी छ, यो धर्मनिरपेक्षतासहितको छ। यसलाई कसरी हामीले समयसापेक्ष  राष्ट्रको एकतालाई मजबुद गर्दै र देशलाई सबै नेपालीको भावनाबमोजिम संविधानसभाबाट ६०१ प्रतिनिधिले भौगोलिक, सांस्कृतिक र सामाजिक विविधतासहितको संविधान ल्याएका हुन्। यही संविधानमार्फत हामीले अबका दिनमा बाटो कोर्नुपर्छ।

अब चुनावभन्दा दायाँबायाँ जानु हुँदैन। लोकतन्त्रमा जनताको अधिकार जनतामा छ। जनता यो देशको मालिक हो। संविधानले सार्वभौमसत्ता, राजकीयसत्ता र शासन सत्ता जनतामा निहित राखेको छ। यसै मार्फत भविष्यको बाटो कोरेर जाऔँ भन्ने देशवासीमा नम्र अनुरोध गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad