करिब ६ महिनासम्म युक्रेनको अध्यागमन हिरासत केन्द्रको नियन्त्रणमा रहेका २ जना नेपाली आज स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेहरूमा रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसी रहेका छन्।
जर्मनीस्थित नेपाली राजदूतावासका अनुसार उनीहरू मानव तस्करहरूको प्रलोभनमा परी मोल्डोभा हुँदै युक्रेन प्रवेश गरेका थिए। उनीहरूलाई राजदूतावासको निरन्तर प्रयासपछि आज मोल्डोभाको चिसानाउस्थित विमानस्थलबाट नेपाल पठाइएको हो।
युक्रेनको बोर्डर गार्ड तथा अध्यागमन अधिकारीहरू तथा मोल्डोभाको अध्यागमन विभागका साथै गैरआवासीय नेपाली संघ, जर्मनीको सहयोगमा उनीहरूको उद्धार भएको दूतावासबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
विषम परिस्थितिमा रहेको मुलुक युक्रेनमा कुनै पनि प्रयोजनको लागि वा कुनै प्रकारको प्रलोभनमा परी नजान राजदूतावासले सार्वजनिक सूचनामार्फत पटकपटक अनुरोध गर्दै आएको छ।
१८ सेप्टेम्बर २०२४ मा पनि युक्रेनी हिरासतमा रहेका दोलखाका शेर शाङ्बाे शेर्पा र तेह्रथुमका फुर्वा शेर्पालाई ९ महिनाको प्रयासबाट जर्मनीको नेपाली राजदूतावासले नेपाल पठाएको थियो।
दुवै पटकका उद्धारमा स्थानीय सहजकर्ताको रूपमा युक्रेनी नागरिक किरील कावानेट्सले राजदूतावासलाई सहयोग गरेका थिए।
Shares

प्रतिक्रिया