नेकपा (मसाल) ले संघीयताको खारेजी गर्नुपर्ने माग पुनः दोहोर्याएको छ।
महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार प्रेस वक्तव्य प्रकाशित गरी संघीयता खारेज गरी वर्तमान संविधानको रक्षा गर्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनपछि संविधानमाथि आक्रमण भएको भन्दै यसको रक्षामा मसालले विशेष जोड दिएको हो।
वक्तव्यमा वर्तमान संविधानलाई सैद्धान्तिक र रणनीतिक रूपले स्वीकार नगर्ने स्पष्ट पार्दै मसालले अहिलेको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा आमूल परिवर्तन गरेर नयाँ जनवादी क्रान्ति सफल पार्ने जनाएको छ।
यस्तो छ प्रेस वक्तव्य
आजको संविधान दिवसलाई नेकपा (मसाल) ले स्वागत गर्दछ र संविधानको रक्षा गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ। त्यसप्रति हामीले सम्पूर्ण जनताको पनि ध्यान आकर्षित गर्न चाहन्छौँ।
वर्तमान संविधानलाई सैद्धान्तिक र रणनीतिक रूपले हामीले स्वीकार गर्दैनौँ र त्यसको ठाउँमा वर्तमान अवस्थामा अर्थात् अहिलेको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा आमूल परिवर्तन गरेर नयाँ जनवादी क्रान्ति सफल पार्ने र त्यसरी देशमा नयाँ जनवादी गणतन्त्र कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ।
तर हाम्रो यो पनि स्पष्ट र दृढ विचार छ कि देशको अहिलेको ठोस परिस्थितिमा वर्तमान संविधान, गणतन्त्र, धर्मनिरपेक्षता समेतको प्रगतिशील महत्त्व छ र त्यसैले हामीले वर्तमान संविधानको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ।
त्यसका साथै हामीले यो कुरा पनि स्पष्ट गर्न चाहन्छौँ कि विद्यमान संविधानमा व्यवस्था गरिएको संघीयताप्रति हाम्रो पूरा विरोध छ। हामीले त्यसलाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छौँ।
देशमा राजावादी र अन्य कतिपय पक्षहरूले संविधानमाथि आक्रमण गर्दै आएका छन्। जेन्जी आन्दोलनपछि पनि एक वा अर्को प्रकारले संविधानमाथि हमला बढेर गएको छ। उनीहरुले कुनैबेला संविधानलाई पुनर्लेखन गर्ने कुरामा जोड दिन्छन् भने कुनैबेला संविधानमा व्यवस्था गरिएको दलीय प्रणालीलाई पूरै समाप्त गर्ने कुरा गर्दछन्।
अहिले जसरी संविधानको प्रावधानलाई अतिक्रमण गरेर मन्त्रिमण्डलको गठन वा संसदलाई विघटन गर्ने काम गरियो र गैरदलीय आधारमा मन्त्रिमण्डलको गठन गरियो त्यसबाट उनीहरूले एक वा अर्को प्रकारले संविधानमाथि आक्रमण गर्न खोजिरहेको कुरा नै बुझिन्छ।
त्यस्तो अवस्थामा संविधान वा त्यसअन्तर्गत गणतन्त्र, धर्मनिरपेक्षता र दलीय व्यवस्थाको रक्षाको प्रश्न एकदम अहम् प्रश्न बन्न गएको छ। आज संविधान दिवसको अवसरमा हाम्रो पार्टीले संविधानको रक्षाका लागि विशेष जोड दिन र त्यसका लागि सम्पूर्ण जनतालाई अगाडि आउन अपिल गर्दछ।
२०८२ असोज ३ गते
मोहनविक्रम सिंह
महामन्त्री
Shares

प्रतिक्रिया